स्वस्थ वडा निर्माण अभियान: वडा नं. ५ मा नेशनल प्याथ ल्याबसँग स्वास्थ्य सेवा विस्तारबारे अन्तरक्रिया

Date: 2026-07-22
news-banner
ललितपुर। ललितपुर महानगरपालिका वडा नं. ५ का वडाबासीलाई लक्षित गर्दै स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यका साथ नेशनल प्याथ ल्याब, वडा कार्यालय, महिला समूहका पदाधिकारी तथा विभिन्न टोल विकास संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडाबासीको स्वास्थ्य अवस्था सुधार तथा रोगको समयमै पहिचान गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा वडाबासीलाई सहज रूपमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले आगामी तीन महिनासम्म किड्नी तथा सुगर (मधुमेह) सम्बन्धी निःशुल्क परीक्षण सञ्चालन गर्ने निष्कर्ष निकालिएको हो।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले वडाबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। उहाँले महिला समूह तथा टोल विकास संस्थासँग समन्वय गरी विभिन्न स्थानमा स्वास्थ्य शिविर (क्याम्प) सञ्चालन गरिने र वडाबासीले आफ्नै टोलमा पुगेर निःशुल्क परीक्षण सेवा लिन सक्ने व्यवस्था मिलाइने बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न मद्दत पुग्ने, उपचार खर्च घट्ने र नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागी महिला समूहका प्रतिनिधि तथा टोल विकास संस्थाका पदाधिकारीहरूले समुदायस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने पहलको स्वागत गर्दै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

नेशनल प्याथ ल्याबका प्रतिनिधिहरूले नेपालमै सबैभन्दा ठूलो प्रयोगशाला सञ्जालमध्ये एकको रूपमा संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय प्रयोगशाला सेवा प्रदान गर्दै आएको जानकारी दिए। समयमै रोगको पहिचान, सही परीक्षण र प्रभावकारी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ ल्याबले आधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत सेवा विस्तार गर्दै आएको उनीहरूको भनाइ थियो।

नेशनल प्याथ ल्याबले नियमित स्वास्थ्य परीक्षणलाई सहज, भरपर्दो र सबैको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ बिरामीमैत्री सेवा सञ्चालन गरिरहेको जनाएको छ। आगामी तीन महिनासम्म सञ्चालन हुने निःशुल्क किड्नी तथा सुगर परीक्षण कार्यक्रमबाट वडा नं. ५ का ठूलो संख्यामा नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।




Leave Your Comments