ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा बालबालिकाका लागि मानसिक स्वास्थ्य, आत्मविश्वास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले शारीरिक र मानसिक स्वास्थ्यलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। शरीर र मनलाई एकै ठाउँमा राख्न नसक्दा चिन्ता, डिप्रेसन तथा एन्जाइटीजस्ता समस्या देखिन सक्ने उहाँले बताउनुभयो।उपमेयर शाक्यले अहिलेको अवस्थामा बालबालिकाको खानपानमा समेत विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकालाई खुलेर बोल्न र प्रश्न गर्न प्रोत्साहित गर्न अभिभावकलाई आग्रह गर्दै प्रश्न गर्ने क्षमताको विकास नभएसम्म उनीहरूको सोच र व्यक्तित्वको विकास हुन नसक्ने बताउनुभयो।बालबालिकालाई खान, लाउन र पढाउन मात्र नभई उनीहरूलाई खुसी बनाउनु पनि अभिभावकको प्रमुख जिम्मेवारी रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले नौ वर्षको कार्यकालमा वडाले महिला, बालबालिका, युवा तथा अपाङ्गता लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। बालबालिकाको समग्र विकासका लागि उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा वडा नं. ५ की महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठले बालबालिकामा मानसिक स्वास्थ्य, आत्मविश्वास तथा क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
त्यस्तै, वडा सदस्य पुनम निरौलाले बालबालिकाको मानसिक स्वास्थ्य, आत्मविश्वास तथा क्षमता विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा बालबालिका तथा अभिभावकलाई मानसिक स्वास्थ्य, आत्मविश्वास र क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा बालबालिकाका कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूको भावना तथा व्यवहारलाई बुझ्ने र मानसिक अवस्थालाई अभिभावकले प्राथमिकताका साथ ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको थियो ।बालबालिकाको क्षमता विकाससँगै उनीहरूको मनोभावना बुझ्ने, आफ्ना समस्या खुलेर व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्ने तथा अभिभावक र बालबालिकाबीच सकारात्मक सम्बन्ध कायम गर्ने विषयमा समेत प्रशिक्षणमा जोड दिइएको थियो।
कार्यक्रममा वडा नं. ५ का वडा सदस्य मञ्जु रिजाल, अशोककुमार श्रेष्ठ, वडा सचिव युवराज शैजु लगायत जनप्रतिनिधि तथा बालबालिकाको उपस्थिति रहेको थियो।
तस्बिरहरु