"यर्सागुम्बा" जैविक किरा भएर पनि सुनभन्दा महँगो

Date: 2024-07-02
news-banner
हिमाली क्षेत्र तथा उच्च हिमालीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा ठूलो देश हो । यर्सागुम्बामा पाइने औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिव्रद्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मृगौला, कलेजो सम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने गर्दछ । यसको मुख्य बजार चिन हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा एक किलो यार्सागुम्बा लाखौं मूल्य मा बिक्री हुने गर्दछन् । अधिक मागँका कारण विगत केही वर्ष यता नेपालमा यसको सङ्कलन एवं बिक्री वितरण कार्यमा उच्च पहाडी तथा हिमाली भेगका बासिन्दाहरू निकै आकर्षित भएका छन् ।

नेपाल राष्ट्रिय बैंक अनुसन्धान विभागका सह-सूचना अधिकारी डाक्टर भागवत आचार्यका अनुसार, "नेपालमा वार्षिक न्यूनतममा ३ हजार किलो यार्सागुम्बा सङ्कलन हुने गर्दछन् । विश्व बजारमा वार्षिक ८३ देखि एक सय ८३ मेट्रिक टन यार्सागुम्बा आपूर्ति हुने गरेकोमा चीनबाट मात्र करिब ९५ प्रतिशत भन्दा बढी आपूर्ति हुने गरेको जानकारी दिनुभयो ।" 
  नेपालमा २५ जिल्लामा यार्सा सङ्कलन भएतापनि यसको व्यावसायिक सङ्कलन १२ जिल्लाबाट हुने गरेको छ । जस मध्ये बढी डोल्पा, दार्चुला, अछाम, मनाङ, रुकुम, बझाङ, हुम्ला जिल्लाहरूमा यार्सा सङ्कलन हुन्छन् । विश्वमा यार्सागुम्बाको प्रजाति पाँच सय भन्दा बढी छन् भने, नेपालमा हालसम्म यार्सागुम्बाको ११ प्रजातिका पहिचान गरिएकाे आचार्यको भनाइ छ । 
  उहाँका अनुसार, "नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७०/०७१ का प्रतिवेदन अनुसार नेपालमा करिब रु. ४ अर्ब ९२ करोडको यार्सागुम्बा सङ्कलन गरिएको थियो तर अहिलेको विश्व बजारीकरणले गर्दा यार्साको मूल्य सङ्कलनमा वृद्धि भएको दाबी गर्नुभएको छ ।" 

यर्सागुम्बाको खुल्ला बजारमा न्यूनतम एक किलोको मूल्य ३० लाखदेखि अधिकतम ८० लाखसम्म पर्छ, भने प्रतिगोटा दुई हजार देखि पाँच हजार सम्ममा बिक्री वितरण गरिएको पाइएको छ । नेपालबाट वार्षिक पाँच हजार किलो यार्सागुम्बा निकासी हुने अनुमान गरिएको आचार्यले जानकारी दिनुभयो । खासगरी यार्सागुम्बा सङ्कलन गर्नका लागि संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन कार्यालयबाट  अनुमति लिनुपर्छ । अपिनम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख (वार्डेन) विनय कुमार झा का अनुसार," स्वीकृत व्यवस्थापन कार्ययोजनामा उल्लेख भए बमोजिम  प्रत्येक आर्थिक वर्षमा जम्मा आठ सय ५० केजीको राजस्व लिई जिल्ला बाहिर निकासा दिने छोडपुर्जी कार्यालयले दिने गर्दछन् जानकारी दिनुभयो । उहाँका अनुसार, “यार्सागुम्बा प्रतकेजी ३१ हजार राजस्व दाखिला गरी जिल्ला बाहिर यार्सागुम्बा निकासा हुने गरेका छन् । चालु आर्थिक वर्ष २०८० / ०८१ देखि हालसम्म जम्मा राजस्व सङ्कलन रकम एक करोड ८० लाख ८६ हजार आठ सय पाँच रुपैया भएको छ, भने गतवर्ष आ.वमा राजस्व रकम एक करोँड ५२ लाख १६ सय २५ रुपैया सङ्कलन भएको थियो । गत वर्षभन्दा यस वर्ष आम्दानी बढेको झाले बताउनुभयो ।“  
     यो आर्थिक वर्षको जेठसम्म संरक्षण क्षेत्र भित्रका यार्सा संकलन गर्न जाने सात सय पाँच जना रहेका छन् । संरक्षण क्षेत्र भित्रको लागि कार्ड लिएवापत पाँच सय शुल्क तिर्नुपर्ने, जिल्ला भित्रका लागि दुई हजार र जिल्ला बाहिरका लागि तीन हजार शुल्क तिर्नु पर्ने हुन्छ झाले जानकारी दिनुभयो । 

वन निर्देशनालय सुदूरपश्चिमका निर्देशक हेमराज बिष्टले, "दार्चुला जिल्लाको तीनदेशीय नाका क्षेत्रमा यार्सागुम्बा सङ्कलनका समयमा अन्तर्राष्ट्रिय देशबाट हजारौंको सङ्ख्यामा व्यापारी तथा यार्सा सङ्कलनकर्ताहरू आउने गरेका छन् तर के को आधारमा भित्रिन्छ भने हामीसँग कुनै आधार तथा ऐन छैन यो राजनीतिक मुद्दा हो । नेपालका नागरिक राजस्व तिरी अनुमति कार्ड लिएर जाने गरेका छन् । यार्सागुम्बा सङ्कलनको बेलामा हिमाल तथा उच्च पहाडी क्षेत्रमा वन्यजन्तु चोरीसिकारी बढेको भन्नुभयो ।"

 " यार्सागुम्बा टिप्न जानुभन्दा पहिला सबैले कुलदेवता तथा प्राकृतिकलाई पूजा गरेर मात्र जानुपर्ने चलन छ । यस क्षेत्रमा मन्दिरहरू हुन्छन् तर मन्दिरभित्र मुर्ति हुदैँन । त्यस्तै महिलाहरू महिनावारी हुँदा यार्सा टिप्दैन त्यसबेला उनीहरुले औषधि सेवन गरेर मात्र टिप्ने गर्दछन् । महिनावारी भएको बेलामा यार्सा टिपेमा देउता रिसाउँछ भने जनविश्वास रहेको महाकाली नगरपालिका छाप्रीमा बस्ने यार्सागुम्बा व्यापारी सन्तोष कुम्मरले भन्नुभयो ।" "त्यसैगरी यार्सा टिप्ने ठाउँमा प्रत्येक वर्ष आ आफ्नो क्षेत्र स्थान छुट्याएको हुन्छ । कसैले पनि कसैको स्थानमा बस्न पाउँदैन । आफ्नो पुरानै स्थानमा गएर पाल राखेर समूहमा बस्ने गर्छन् ।  यिनीहरु सहयोगी भावना भएका हुन्छन् व्यापारीले जानकारी दिनुभयो । यिनीहरू फर्किने बेलामा आ-आफ्नो बाँकी रहेको सामानहरू त्यहीँ ठाउँमा खाल्डो खनेर खाल्डो भित्र सामानहरू राख्छन् । यसरी राख्नुको मतलब प्राकृतिक कोल्ड स्टोर भएर एक वर्षसम्म कुनैपनी सामान नबिग्री यथास्थानमा रहिरहन्छन् , व्यापारीले बताउनुभयो।"

 "यार्सागुम्बा भएको ठाउँमा बोटबिरुवा हुँदैन । बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ कतिपय ठाउँमा हिउँ पन्छ्याउँदै यार्सा बसेर कुट्टोले खनेर टिप्नु पर्छ" व्यापारीले जानकारी दिँदै भने, "यार्सा टिप्न जाने बेलामा लेक लाग्ने सम्भावना बढि भएको हुनाले लेकबाट जोगिनका लागि घरेलु औषधिको रुपमा टिमुर, डोली, मह, प्याज, गुड, लसुन हामी लिएर आएका हुन्छौं ।"
   यार्सा व्यापारीले, " यार्सा बेस क्याम्प क्षेत्रमा उपचारको व्यवस्था सरकारले गरिदिएको भए लेक लाग्ने मानिसहरूको ज्यान जोगिन्थ्यो । सङ्कलनकर्ताहरूलाई उपचारकालागि लग्दा यातायातको सुविधा नभएको कारण बाटोमै मृत्यु हुन गएको जानकारी दिनुभयो ।"

यार्सागुम्बाको जीवनचक्र
  समुद्री सतहबाट ३ हजार ५ सय  मिटरदेखि ५ हजार ५ सय मिटर सम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो । हिमाली भेगमा हिउँ सकिएपछि वैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फुल्न सुरु हुन थाल्छन् । त्यहीँ समयमा पुतलीहरूले फूल पार्न थाल्छन् । पुतलीको लार्भा अवस्थामा संक्रमण हुँदै पुरै शरीर नै तन्तुले भरिन्छ बसन्त ऋतुसम्ममा यो आँख्लै-  आँखला भएको लामो डाँटमा परिणत हुन्छ । यो जमिन मुनिबाट लार्भाको टाउको भएर  बाहिर अंकुरित हुन्छ । जमिनमुनिको भाग सुनौलो रङको २ देखि ४ मिलिमिटर मोटो र ३ देखि ५ सेन्टिमिटर जति लामो  हुन्छन् भने, माथिको भाग ४ देखि ७ सेन्टिमिटर जति खैरो रङको लामो हुन्छ । तौल ०.८ देखि ०.११ मिलिग्राम सम्मको हुन्छ । यसलाई तिब्बती भाषामा यार्चाकुन्बु भनिन्छ । 'यार' भनेको वर्षा, 'चा' भनेको झार,  'कुन' भनेको हिउँद र 'बु' भनेको किरा हो । यार्चाकुन्बुबाट नै यर्सागुम्बा नाम रहन गएको हो । यसलाई नेपालमा यर्सागुम्बा,  यार्चागुम्बा, किराघाँस, जीवनबुट्ी,  वियाग्रा, सञ्जीवनी, किराझार आदि नामले चिनिन्छ । यसलाई अङ्ग्रेजीमा कट्टरपिलर फंगस ,(Caterpillar fungus) भनिन्छ भने वैज्ञानिक नाम 'cordyceps sinensis' हो । 
      
  बहु औषधियजन्य गुण
यर्सागुम्बा एक प्रकारको बहुपोषक 'हाई क्वालिटी मल्टी भिटामिन' युक्त जडीबुटी हो। यसलाई शक्तिवर्धक र रगत बढाउने औषधिको रूपमा पनि लिइन्छ। लामो समयको बिरामीलाई तागत दिने रक्तअल्पता एवं उमेर बढ्दै गएपछि हुने समस्याको उपचारमा समेत यो प्रयोग गरिन्छ। यसमा एन्टीबायोटिक गुण पनि रहेको हुनाले छाती तथा फोक्सोको संक्रमण, क्षयरोग, खोकी, रक्तचाप, कोलेस्टेरोल, यौन शक्ति बढाउने, क्यान्सर, मृगौला, कलेजो, हेपाइटिस बी, जस्ता रोगमा पनि औषधिको रुपमा सेवन गरिन्छ । अहिले युवा तथा खेलाडीहरूले यार्सागुम्बा सेवन गरेको बढी पाइएको व्यास गाउँपालिकाका स्थानीयवासी प्रेम रोकायाले जानकारी दिनुभयो । 

यार्सागुम्बाको केही भाग धुलो बनाएर मनतातो दूध वा पानीमा मह मिसाएर रातिमा खानुपर्छ । कतिले बजारमा बनाएकै क्याप्सुल खाने गरेको रोकायाले जानकारी दिनुभयो । 
  जलवायु परिवर्तनबाट यार्सागुम्बामा परेको असर विश्व जलवायु परिवर्तनले गर्दा यार्सागुम्बाको फंगस उम्रनमा धेरै नै असर परेको छ । यो हिमाली क्षेत्रमा पाइने एक प्राकृतिक बहुमूल्य जडीबुटी अर्थात् फंगसको प्रजाति हो। यो उम्रनको लागि बाक्लो हिउँ चाहिन्छ। तर विश्व जलवायु परिवर्तनका कारण तापमान बढ्दै गएको हुनाले यो प्रजातिमा पनि संकट परेको छ। पूर्वी हिमालयहरूमा तापक्रममा बृद्धि हुनु, हिउँको मात्रा घटेको कारण मोथ तथा लार्भाको जनसङ्ख्याको कमी हुनु । यार्सा टिप्न जाँदा वातावरणले गर्दाखेरि बासस्थानमा बस्न कठिनाइ भएको छ । त्यसैगरी गोरोठो बाटो बनाएको पनि अस्थायी रूपले बाटो वर्षभरि पनि नटिक्नु ।

 सामाजिक अवसर तथा प्रभाव
   हिमाली तथा पहाडी भेगको बासिन्दाहरू बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलन गरी बिक्री वितरणले गर्दा जनताको आर्थिक स्थिति, पर्यटन, होटल, बैंक तथा वित्तीय संस्थाहरू लगायतआयआर्जन तथा रोजगारका अवसरमा वृद्धि भएको पाइन्छ । यसले गर्दा देश र हिमालमा अर्थतन्त्र चलामायन भएको छ ।

   यार्सागुम्बाको बढ्दो सङ्कलन तथा कारोबारसँगै उच्च पहाडी तथा हिमाली भेगमा शिक्षा, स्वास्थ्य तथा शान्ति सुरक्षा, समाजिक विकृतिमा प्रतिकूल प्रभाव पनि पर्ने गरेको छ । तर कतिपय ठाउँमा विद्यालयका विद्यार्थीहरू शिक्षक कर्मचारी समेत उल्लेख्य संख्यामा यार्साको संकलनमा जाने गर्दा जेठ देखि असोजसम्म विद्यालय नै बन्द हुने गरेको पाइन्छ। यार्सा सङ्कलनमा बालबालिकालाई लगाउनुको कारण उनीहरूको आँखा तेजिलो भएको हुनाले छिटो नै यार्सागुम्बा चिन्न र टिप्न सक्छ भनेर लगेको हुन्छ । व्यावहारिक रूपले हेर्दा बालबालिकालाई घरमा रेख देख तथा हेर्ने मान्छे हुँदैन । यिनीहरूको वर्षभरिको आयआर्जन एवं  जीविका उपार्जनका लागि यार्सागुम्बा तथा जडीबुटी नै आधार हो ।यार्सा सङ्कलनका लागि १६ वर्ष मुनिका बालबालिका पनि गएको देखिएको छ । यो संविधानको ऐन अनुसार मानवअधिकारको विपरीत कार्य पनि हो । सरकार यसमा मौन भएको देखिन्छ । यर्सागुम्बाको दिगो उत्पादन तथा व्यवस्थापनमा समस्याहरू देखिएका छन् । यार्साको राम्रो व्यवस्थापन, बजारीकरण, जडीबुटीको प्रसोधन केन्द्र आदि भएमा सरकार तथा आम जनतालाई राम्रो आम्दानीको स्रोत हुने थिए होला । यसलाई जैविक सुनको रूपमा पनि चिनिन्छन् ।
   अर्चना झा

Leave Your Comments