कोन्ज्योसोम गाउँपालिकाको १५ औँ गाउँसभा अधिवेशन सुरु

Date: 2024-12-20
news-banner
कोन्ज्योसोम गाउँपालिकाको १५ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । बिहीबार बागमती  प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गाउँंसभाको उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री लामासहित संघीय सांसद उदयसमशेर राणा, प्रदेश सांसदहरु मधुसूदन पौडेल,उर्मिला लामा,जिल्ला समन्वय समिती ललितपुरका सभापति ऋषिदेव फुँयाल सहित सम्पूर्ण कार्यपालिका सदस्य हरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै गाउँपलिका अध्यक्ष कृष्णमान लामाले गत असोज ११ र १२ गतेको विनाशकारी बाढी पहिरोले कोन्ज्योसोम गाउँपालिकामा ठूलो क्षती भएको भन्दै गाउँपालिकाको ध्यान राहत तथा पुनर्निर्माणमा गएको बताए । साथै संघ तथा प्रदेशको ऐन कानुनको जटिलताले गर्दा पुनर्निर्माण कार्यमा बाधा उत्पन्न भएको भन्दै उक्त अड्चन सहज बनाउनका लागि अध्यक्ष लामाले मुख्यमन्त्री तथा केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोन्ज्योसोमको नल्लुखोला र ठोस्नेखोलामा उक्त बाढीको कारण व्यापक धनजनको क्षती भएको छ । प्रदेश सांसद मधुसूदन पौडेलले क्षती भएको नदीक्षेत्रमा जतिसक्दो छिटो तटबन्ध निर्माण गर्नुपर्ने बताए । सातै उनले दक्षिण ललितपुर जोड्ने लेले चन्दनपुर, मध्यमार्गी सडक, बिर्खेधारा दलचोकी सडक लगायतको स्तरोन्नतीको लागि आफूहरु निरन्तर लागिरहेको र वहुवर्षीय योजनामा पारेको बताए । अर्की प्रदेश सांसद उर्मिला लामाले बाढी पहिरोको प्रकोपको कारण कोन्ज्योसोम गाउँपालिका लगायत दक्षिण ललितपुर को विकास निर्माण २० वर्ष पछाडी धकेलिएको भन्दै अबको पुनर्निर्माण र विकासमा सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन । 

मुख्यमन्त्री बहादुर सिंह लामाले कोन्ज्योसोम बासीको माग सम्बोधन गर्न आफू सकारात्मक रहेको भन्दै बाढीपीडितलाई राहत पुनर्निर्माण को लागि छिटै राम्रो योजनाहरु आउने बताउँदै दक्षिण ललितपुरलाई कर्णालीको आँखाबाट मात्र नहेरी कृषि र पर्यटनको सम्भावनाको खोजी गर्दै त्यसको विकासमा लाग्न सबैलाइ आग्रह गरे ।

उक्त गाउँसभाको अवसरमा विपदको समयमा सक्रियतापूर्वक उद्दार तथा राहतमा खट्ने राजनीतिक दलहरु, विभिन्न संघसंस्थाहरु,पत्रकार, गाउँपालिकाका कर्मचारी तथा सबै वडाका स्वयंसेविकाहरुलाई प्रशंसापत्रद्वारा सम्मानसमेत गरिएको थियो ।

Leave Your Comments