अर्चना झा रासस
ललितपुर (गोदावरी), २२ भदौ (रासस) – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि विभिन्न १० समूहमा विभाजन गरी शनिबार विस्तृत छलफल गरिएको छ। ललितपुरस्थित सनराइज हलमा जारी महाधिवेशनमा महिला सहभागिता, मधेसका जनजीविकासँग जोडिएका विषय र समावेशीकरणलाई प्राथमिकताका साथ उठाइएको छ।
सर्लाहीको बरहथवा नगरपालिकाका प्रमुख तथा नेकपा एमाले नेतृ कल्पना कुमारी कटुवालले मधेसका जनजीविकासँग जोडिएका मुद्दा र सामाजिक विषयलाई विधानमा समावेश गर्नुपर्नेमा जोड दिँदै महिलामा समावेशिता र पदमा सहभागिता बढाउनुपर्ने बताउनुभयो ।उहाँका अनुसार पार्टी पदका लागि उमेर सीमा र कार्यकाललाई सिमित नगरी सक्रियता, क्रियाशीलता र लोकप्रियतालाई आधार बनाउनुपर्ने र पार्टी सदस्यता शुल्क सरल तथा न्यून राखिनुपर्ने प्रस्ताव आएको छ ।महाधिवेशनमा सहभागी महिला प्रतिनिधिहरूले पदाधिकारी हकमा कम्तिमा एक पदमा महिला अनिवार्य राख्नुपर्ने र महिला सहभागिता कागज नभएर व्यवहारमा ४० प्रतिशत पुर्याउनुपर्ने माग समेत राखेका छन् ।
केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा सहितले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जारी तीन दिने विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ