ललितपुर–५ मा एसईई तथा प्लस टु उत्तीर्ण विद्यार्थी सम्मानित

Date: 2026-09-06
news-banner
ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ५ ले एसईई तथा प्लस टु परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरेको छ। विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै वडा कार्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा एसईई परीक्षामा ३.९५ जिपिए हासिल गर्न सफल विज्ञानसु ढुङ्गाना र प्लस टु परीक्षामा ३.८५ जिपिए ल्याउन सफल आयुसी महर्जनलाई उत्कृष्ट विद्यार्थीका रूपमा सम्मान गरिएको थियो। दुवै विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

त्यसैगरी, एसईई उत्तीर्ण २० जना तथा प्लस टु उत्तीर्ण १२ जना विद्यार्थीलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यार्थीलाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, वडा नं. ५ का अध्यक्ष विकास मान श्रेष्ठलगायत जनप्रतिनिधिले सम्मान गरेका थिए।

विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ। सम्मानले विद्यार्थीलाई अध्ययनप्रति थप उत्प्रेरित गर्दै उच्च शिक्षा तथा करियर निर्माणमा अघि बढ्न हौसला मिल्ने विश्वास वडा कार्यालयले व्यक्त गरेको छ।

ललितपुर महानगरपालिका वडा नं. ५ ले विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्दै हरेक वर्ष एसईई तथा प्लस टु उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै आएको छ। आगामी दिनमा पनि विद्यार्थीको क्षमता, प्रतिभा र शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने वडा कार्यालयले जनाएको छ।

तस्वीरहरु

Leave Your Comments