विदेशी पर्यटकलाई सहज : मोबाइलमै राहदानी र भिसाको मान्यता दिइने
Date: 2026-09-16
काठमाडौँ : अध्यागमन विभागले आफ्नो मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, भिसालगायतका अभिलेखलाई आधिकारिक मान्यता दिने भएको छ ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी पर्यटकले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झट हटाउन मोबाइल एपमा उपलब्ध डिजिटल अभिलेखलाई मान्यता दिने निर्णय प्रस्ताव गरिएको जानकारी दिए । उनका अनुसार विदेशी पर्यटकले होटलमा चेक–इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट वा भिसा नभए पनि मोबाइल एपमा देखाएको डिजिटल अभिलेखलाई आधिकारिक मान्यता दिने प्रस्ताव गरिएको छ ।
नेपाल आएका विदेशी नागरिकले विभागको मोबाइल एपमा लगइन गरी आफ्नो राहदानी विवरण प्रविष्ट गरेपछि उक्त विवरण अध्यागमनको केन्द्रीय सर्भरसँग जोडिने उनले बताए ।अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क राखेर विदेशी नागरिकलाई एप डाउनलोड तथा प्रयोगबारे सहजीकरण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
महानिर्देशक तिवारीले विपद्को समयमा करिब एक हजार विदेशी नागरिक हराएको प्रारम्भिक रिपोर्ट आएपछि विभिन्न कूटनीतिक नियोगले उनीहरूको खोजीका लागि आग्रह गरेको बताए ।तर अध्यागमनको प्रणालीमा ‘इन/आउट’ भएका र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता भई होटलमा बसेका बाहेक अन्य विदेशी नागरिकको यकिन अवस्था तत्काल पत्ता लगाउन कठिनाइ भएको उनले बताए ।
विभागको मोबाइल एपसँग विदेशी नागरिकको विवरण जोडिएपछि विपद् वा संकटका बेला को कहाँ छ भन्ने तत्काल ‘ट्रेस’ गर्न तथा उद्धार गर्न सहज हुने महानिर्देशक तिवारीले उल्लेख गरे ।