नेपाली युवा आशीर्वाद राज झा संयुक्त राष्ट्रसंघक विश्व खाद्य मंच २०२५ मे सहभागी

Date: 2025-10-12
news-banner
काठमाडौं २६ असोज: नेपालका युवा आशीर्वाद राज झा लाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत आयोजना हुने विश्व खाद्य मञ्च (डब्लुएफएफ) २०२५ मा सहभागी हुन नेपालबाट एकमात्र आधिकारिक निमन्त्रणा प्राप्त भएको छ । 

नेपालबाट प्रतिनिधित्व गर्नका लागि एकजनालाई मात्र आधिकारिक निमन्त्रणा प्राप्त भएका काठमाडौं वन विज्ञान कलेजका स्नातक तहमा पढ्ने विद्यार्थी आशीर्वाद राज झा कार्यक्रममा सहभागी भएको उहाँको साथी अभिनम थापाले जानकारी गराउनु भएको छ । थापाले जानकारी दिँदै भन्नुभयो, यसअघि पनि आशीर्वादले नेतृत्वको “इको ग्रब” समूहले नेदरल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका नौ देशका अठार टोलीमध्ये दोस्रो स्थान प्राप्त गरेको थियो ।

आशीर्वादको नेतृत्वमा रहेको ‘इको ग्रब’ समूहले कालो सिपाही झिँगा (ब्ल्याक सोल्जर फ्लाई) मा आधारित नवप्रवर्तनशील समाधान प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गरिसकेको छ ।”उक्त अनुसन्धानले फोहोर व्यवस्थापन र पोषक तत्व पुनःप्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कालो सिपाही झिँगाको प्रयोगले पर्यावरण संरक्षण र कृषि उत्पादनमा दिगोपनाको नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको थापाले जानकारी दिनुभयो ।

नेदरल्याण्डमा प्राप्त सफलतापछि, “इको ग्रब” बाट अहिले विश्व खाद्य मञ्च २०२५ मा झाले आफ्नो परियोजना विश्वव्यापी रूपमा प्रस्तुत र कार्यान्वयन गर्ने अवसर पाएका छन् । नेपालका लागि यो उपलब्धि युवाहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो क्षमता, अनुसन्धान र नवप्रवर्तनशील सोचको उज्ज्वल उदाहरण बनेको थापाले भन्नुभयो ।

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम सन् २०२५ को अक्टोबर १० देखि १८ सम्म इटालीको रोमस्थित एफएओ मुख्यालयमा आयोजना भएको छ । यस वर्षको मञ्चको मुख्य विषय “हातमा हात, उत्तम भोजन र उज्ज्वल भविष्यका लागि” रहनेछ, जसले विश्वभरका युवाहरू, वैज्ञानिकहरू, नवप्रवर्तनकर्ताहरू र नीतिनिर्माताहरूलाई एक मञ्चमा ल्याई दिगो, समान र सुदृढ कृषि–खाद्य प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ ।
सरकारका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र, विश्वविद्यालय, किसान सङ्घ, नागरिक समाज र संयुक्त राष्ट्रका विभिन्न निकायहरूसँग सहकार्य गर्दै दिगो विकास लक्ष्यहरू (एसडीजीहरू) हासिल गर्नका लागि नवप्रवर्तनशील विचार र योजना प्रस्तुत गर्ने अवसर पाएका छन् ।

यस वर्षको फोरममा विश्व युवा मञ्च, विज्ञान तथा नवप्रवर्तन मञ्च र हातमा हात लगानी मञ्च लगायतका प्रमुख सत्रहरू हुनेछन्। साथै, “बीउदेखि भोजनसम्म” शीर्षकको पहिलो विश्व प्रदर्शनी, एफएओको ८०औँ वार्षिकोत्सव, विश्व खाद्य दिवस २०२५ समारोह, रोम जल संवाद र आदिवासी जनताको मञ्च पनि यसै क्रममा आयोजना गरिनेछ।

एफएओको युवा तथा महिला कार्यालयका निर्देशक काजुकी किताओकाले पठाएको निमन्त्रण पत्रमा आशीर्वाद झालाई सक्रिय सहभागिताका लागि हार्दिक स्वागत गरिएको उल्लेख गरिएको छ ।

Leave Your Comments