गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

Date: 2025-11-03
news-banner

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा तोडफोड भएको राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवासको आज निरीक्षण गरेका छन्। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सो निवासमा तोडफोड र आगजनी भएको थियो।

निरीक्षणका क्रममा मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग छलफल गर्दै क्षतिग्रस्त घरको मर्मतसम्भार छिट्टै सुरु गरिने प्रतिबद्धता जनाए। उनले सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिए।

गृहमन्त्रीसँगै निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायत उच्च अधिकारीहरू पनि गएका थिए।

निरीक्षण टोलीले त्यसपछि बालाजु प्रहरी वृत्त पनि अवलोकन गरेको थियो। जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको बताइएको छ। तर, प्रहरी वृत्तका प्रमुखले जग्गाको स्वामित्व विषयमा स्पष्टता नभएको जानकारी गृहमन्त्री अर्याललाई दिएका छन्।

गृहमन्त्रीले यस विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक समाधान खोजिने बताएका छन्।

Leave Your Comments