युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरिएको छ । अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरेको हो ।
“युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरिएको,” अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म)को प्रगति विवरणमा उल्लेख गरेको छ ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।
“त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने,” असोज ३० गतेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो ।
मन्त्रिपरिषद्ले गुरुयोजना स्वीकृत गरेपछि अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
गत वर्षको असार अन्तिममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछिको पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशालामा बनाउने थियो ।असारमा मन्त्रिपरिषद्को निर्णय भए पनि प्यारापिटका निम्ति फागुन १९ गतेमात्रै ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम सुरु गरिएको थियो । मैदानको प्यारापिट निर्माणको जिम्मा बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्सले पाएको थियो । कम्पनीले प्यारापिटको काम पनि सम्पन्न गरिसकेको छ ।
यस्तै, फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको थियो । फ्लडलाइट निर्माणका निम्ति गत फागुन २२ गते मन्त्रालयले विसान ईश्वरी जेभीसँग सम्झौता गरेको थियो । फागुन २३ देखि नै काम थालिएको थियो ।
प्यारापिटको काम सम्पन्न भइसके पनि फ्लडलाइटमा ढिलाइ हुँदा रंगशाला निर्माणको पहिलो चरण अझै सम्पन्न भइसकेको छैन ।
तत्कालीन प्रधानमन्त्री ओलीले गत वर्षको असार मसान्तमै ३०० दिनभित्र काम सक्ने गरी दाबी गरेका थिए । तर, ओलीको घोषणाले एक वर्ष चार महिना पार गरिसक्दा पनि निर्माण कार्य अझै जारी छ ।
यसै सिलसिलामा गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको थियो ।