थसिखेल महिला समूहद्वारा सात दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

Date: 2025-11-10
news-banner
ललितपुर, कात्तिक २४ - महिलाहरूको सशक्तिकरण, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले ललितपुर महानगरपालिका वडा नं. ५ को सहयोगमा श्री थसिखेल महिला समूहले आयोजना गरेको सात दिने ‘उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम’ आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

कात्तिक १८ गतेदेखि सञ्चालन भएको तालिमको आज सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वडा नं. ५ का अध्यक्ष विकास मान श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा वडा सचिव युवराज सैजु, वडा सदस्यहरू शोभा देवी प्रदान श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, पुर्नम निरौला र मञ्जु रिजाल लगायतको विशेष उपस्थिती रहेको थियो।

सात दिनसम्म सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूलाई उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, व्यक्तित्व विकास, सम्प्रेषण कौशल र नेतृत्व क्षमताको अभिवृद्धिसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सीपहरू प्रदान गरिएको थियो। सहभागीहरूले समाजमा आत्मविश्वासका साथ बोल्न, प्रस्तुत हुन र सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने अभ्यास गरेका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकास मान श्रेष्ठले भने, “बोल्नेको पिठो पनि बिक्छ भन्ने भनाइ जस्तै, कुनै पनि ठाउँमा बोल्दा मिठास र प्रसंगअनुसारको शैली हुनुपर्छ। महिलाहरूले सिकेका सीपहरू व्यवहारमा उतार्न सके नेतृत्वमा सशक्त भूमिका खेल्न सक्नेछन्।”

त्यसैगरी, थसिखेल महिला समूहकी अध्यक्ष बसन्ती रिजालले तालिमले महिलाहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र प्रस्तुतीकरण सीपको विकास गरेको बताइन्।उनले भनिन्, “यो तालिमले हाम्रा सदस्यहरूमा नयाँ दृष्टिकोण र आत्मबल भरेको छ। अब हामी समुदायमा अझ सशक्त रूपमा भूमिका निर्वाह गर्न सक्षम भएका छौं।”

वडा सचिव युवराज सैजुले सिकेका कुरा अरूलाई पनि सिकाउँदै जानुपर्नेमा जोड दिँदै थसिखेल महिला समूहलाई ललितपुर महानगरपालिकाको उत्कृष्ट समूहका रूपमा प्रशंसा गरे। वडा सदस्यहरूले समेत तालिमको प्रभावकारिता र महिलाहरूको सहभागितामा प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।

ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभा देवी प्रदान श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, पुर्नम निरौला र मञ्जु रिजालले महिलाहरूको बोल्ने कला र आत्मबल अभिवृद्धिमा तालिमको महत्वपूर्ण योगदान रहेको बताउँदै निरन्तर प्रयासका लागि शुभकामना व्यक्त गरे।

समापन समारोहमा सहभागी महिलाहरूले उद्घोषण, आत्मअभिव्यक्ति र संवाद सीपमा उल्लेखनीय सुधार भएको अनुभव बाँडे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो भने दुई जना उत्कृष्ट सहभागीलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, प्रमुख अतिथि र विशिष्ट अतिथिलाई थसिखेल महिला समूहले उत्पादन गरेका सामाग्रीहरू मायाको चिनोका रूपमा प्रदान गरिएको थियो।

सात दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमले महिलाहरूलाई समाजमा अगाडि बढ्न, आत्मविश्वासका साथ आवाज उठाउन र नेतृत्व भूमिकामा सक्रिय सहभागिता जनाउन प्रेरित गरेको छ।



Leave Your Comments