ललितपुर महानगर वडा नं.५ मा सात दिने फोटोग्राफी तालिम सुरु

Date: 2025-11-11
news-banner
ललितपुर,  — ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा अभिग्राफीद्वारा ७ दिने ‘फोटोग्राफी तालिम’ आज एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सुरु गरिएको छ। युवायुवतीहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएको उक्त तालिम अभिग्राफ्रिको व्यवस्थापनमा सञ्चालन भएको हो।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ५ का वडा सदस्य अशोक कुमार श्रेष्ठले गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै उहाँले भन्नुभयो, “यस्ता सीपमूलक तालिमहरूले नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने मात्र होइन, आधुनिक पेसागत क्षेत्रमा अघि बढ्न पनि प्रेरणा दिन्छन्।”उहाँका अनुसार अहिलेको डिजिटल युगमा फोटोग्राफी जस्तो सीपले देशभित्र मात्र होइन, विदेशमा समेत रोजगारका प्रशस्त अवसरहरू उपलब्ध गराउँछ।सात दिने यो तालिमका सहभागीहरूलाई तालिम राम्रोसँग सिक्न र सीपलाई भविष्यमा जीवनयापनको माध्यम बनाउन शुभकामना व्यक्त गर्नुभयो।

ललितपुर महानगरपालिका  वडा नं.५ का महिला सदस्य शोभा देवी प्रदान श्रेष्ठले तालिममा सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै भनिन्, “फोटोग्राफी तालिम राम्रोसँग लिन सकियो भने विवाह, व्रतबन्ध , उत्सव वा कुनै पनि सामाजिक कार्यक्रममा सजिलै पेशागत रूपमा काम गर्न सकिन्छ। यो सीपले देशमै मात्र होइन, विदेशमा समेत रोजगारीका सम्भावना रहेको बताइन् ।”

कार्यक्रमका अर्का वडा सदस्य मञ्जु रिजालले पनि आफ्नो मन्तव्यमा सीप सिक्नु भनेको जीवनमा स्थायित्व र आत्मविश्वास प्राप्त गर्नु हो भन्दै फोटोग्राफी जस्तो सृजनात्मक सीपले युवाहरूको भविष्य उज्यालो बनाउन सहयोग पुर्‍याउने बताइन्।त्यसैगरी वडा सदस्य पुर्नम निरौलाले पनि सीप सिकेपछि आत्मविश्वास बढ्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले तालिममा सहभागी सबैलाई निरन्तर अभ्यास गर्दै सीपलाई पेशामा रूपान्तरण गर्न आग्रह गर्नुभयो।

सात दिनसम्म चल्ने यस फोटोग्राफी तालिममा सहभागीहरूले क्यामेरा सञ्चालन, प्रकाश (लाइटिङ), फ्रेमिङ, विषय चयन, र तस्बिर सम्पादन (फोटो एडिटिङ) लगायतका व्यावहारिक सीप सिक्नेछन्। तालिममा प्रशिक्षकका रूपमा अनुभवी फोटोग्राफरहरू सहभागी रहेका छन्।यस तालिमबाट सहभागीहरूले फोटोग्राफीको माध्यमबाट सिर्जनात्मक सोच विकास गर्न, व्यावसायिक अवसर पाउन र आत्मनिर्भर बन्ने विश्वास गरिएको छ। 

Leave Your Comments