नेता–कार्यकर्तासँग भेटघाटमा व्यस्त गगन थापा मलंगवामा

Date: 2025-12-06
news-banner

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही सदरमुकाम मलंगवा आइपुगेका छन्। कांग्रेसको भावी नेतृत्वमा सम्भावित उम्मेदवार मानिएका थापा वैवाहिक कार्यक्रममा सहभागी हुन मलंगवा आएको भए पनि उनले आगमनको अवसरलाई राजनीतिक भेटघाटमा रूपान्तरण गरेका छन्।

थापा हिजो बेलुकादेखि नै जिल्लास्थित अगुवा नेता तथा कार्यकर्तासँग अनौपचारिक भेटघाट तथा छलफलमा व्यस्त छन्। स्थानीय नेताहरूका अनुसार थापाको आगमनले जिल्ला कांग्रेसमा उत्साह बढेको देखिन्छ।

यसअघिको संघीय चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा रहेका थापा अन्तिम समयमा काठमाडौंस्थित आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए। आगामी फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले कार्यकर्तामाझ सक्रियता बढाएका छन्। थापाको भेटघाटलाई पनि त्यसैको संकेतका रूपमा हेरिएको छ।

उता, आज प्रदेश राजधानी जनकपुरमा हुने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता घोषणा तथा सन्देश सभामा सहभागी हुन सर्लाहीबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता जनकपुरतर्फ प्रस्थान गरिरहेका छन्। सो कार्यक्रमलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्।

नेकपा सर्लाहीका नेता सुरेन्द्र लामाका अनुसार, सह–संयोजक माधवकुमार नेपाल हिजो नयाँरोडमा केही मिनेट नेता–कार्यकर्तासँग भेटघाट गरेर जनकपुरतर्फ गएका हुन्। दलका विभिन्न तह–तहमा भेला तथा बैठकहरू सम्पन्न भइसकेकाले जनकपुरको कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

Leave Your Comments