रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आगामी मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ। कम्पनीले यस चरणमा कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको छ। जारी गरिने सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आइपिओ छिटोमा मंसिर २५ र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ।
लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।