बहसमा दक्षिण ललितपुर - राजनीतिक रोटी सेक्ने थलो, विकास कहिले ?

Date: 2025-12-22
news-banner
ललितपुर – दक्षिण ललितपुर क्षेत्रलाई केन्द्रमा राखेर ‘गफगाफ दक्षिण ललितपुरको’  कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दक्षिण ललितपुरको भौगोलिक अवस्था, जनसंख्या, मतदाता संख्या तथा स्थानीय विकाससँग सम्बन्धित विविध सरोकारका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा स्थानीय सनोज महतले दक्षिण ललितपुरको भौगोलिक र सामाजिक अवस्थाबारे तथ्यांकसहित आफ्नो धारणा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार दक्षिण ललितपुरको क्षेत्रफल करिब २३८ वर्ग किलोमिटर रहेको छ भने यहाँ करिब ३३ हजार ७ सय जनसंख्या बसोबास गर्दै आएका छन्। साथै यस क्षेत्रमा करिब ३१ हजार ५ सय मतदाता रहेको जानकारी पनि उहाँले दिनुभयो।

महतले दक्षिण ललितपुर विकासका दृष्टिले पछाडि परेको क्षेत्र नभई अपार सम्भावना बोकेको भूगोल भएको उल्लेख गर्नुभयो। कृषि र पर्यटनलाई यहाँको विकासको प्रमुख आधार बनाउन सकिने उहाँको भनाइ थियो। “कृषि र पर्यटन दक्षिण ललितपुरको विकासको मेरुदण्ड बन्न सक्छ,” उहाँले भन्नुभयो, “तर त्यसका लागि व्यवस्थित शहरीकरण र योजनाबद्ध बस्ती विकास अनिवार्य छ।”उहाँले हाल भिरपाखा तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरूलाई टुङ्गुन करिडोर, बागमती करिडोर र दुर्लुङ करिडोरतर्फ व्यवस्थित रूपमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसले जनताको जीवनस्तर सुधार हुनुका साथै दीगो विकासमा टेवा पुग्ने उहाँको धारणा थियो।

ललितपुर जिल्लामा हरेक वर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको बजेट जाने गरेको उल्लेख गर्दै महतले बजेटको प्रभावकारी कार्यान्वयन नहुनुमा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार यो अनुपात हेर्दा प्रतिपरिवार प्रति महिना करिब ६० हजार रुपैयाँ र प्रतिव्यक्ति प्रति महिना करिब १० हजार रुपैयाँ राज्यको लगानी पर्न आउँछ। तर यति ठूलो लगानी हुँदाहुँदै पनि उपलब्धि भने शून्यजस्तै देखिएको उहाँको भनाइ थियो।

महतले स्थानीय बासिन्दामा आफ्नो भूमिप्रति गहिरो माया र स्नेह हुँदाहुँदै पनि रोजगारी, सुविधा र अवसरको अभावका कारण काठमाडौं र ललितपुरका शहरी क्षेत्रमा बसाइँ सराइ गर्न बाध्य अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले दक्षिण ललितपुरका नेता तथा जनप्रतिनिधिहरू गाउँमा कमै देखिन थालेको र शहर केन्द्रित राजनीतिले स्थानीय समस्या ओझेलमा परेको टिप्पणी गरे। यसले गर्दा गाउँका वास्तविक समस्या समाधान हुन नसकेको उनीहरूको धारणा थियो।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले दक्षिण ललितपुरबासी कुनै पनि समयमा काठमाडौं तथा ललितपुरका शहरी क्षेत्रमा बसाइँ सर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै स्थानीय प्राकृतिक स्रोतहरू ढुंगा, गिट्टी र बालुवालाई व्यवस्थित, पारदर्शी र दीगो रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। यसबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने उनीहरूको विश्वास थियो।

कार्यक्रमले दक्षिण ललितपुरको समग्र विकासका लागि दीर्घकालीन योजना, प्रभावकारी कार्यान्वयन र स्थानीय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Leave Your Comments