ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ९ स्थित लोंल टोलमा इन्द्रजात्राको अवसर पारेर आकाश भैरवको प्रतिमा प्रदर्शन गरिएको छ। नेवा समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र निरन्तरताका लागि प्रतिमा प्रदर्शनसँगै लाखे नाच, भैरव प्रदर्शनलगायत विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको हो।
करिब तीन हजार वर्ष पुरानो इतिहाससँग जोडिएको आकाश भैरव पूजा नेवा समुदाय, विशेषगरी ज्यापु समुदायको मौलिक सांस्कृतिक परम्पराका रूपमा मानिन्छ। इन्द्रजात्राका अवसरमा विशेष महत्व राख्ने यो परम्परा लोंल टोलमा झण्डै दुई शताब्दीअघिदेखि प्रचलनमा रहेको बताइन्छ।समयक्रमसँगै लोप हुँदै गएको यस सांस्कृतिक परम्परालाई पुनःस्थापित गरी निरन्तरता दिने उद्देश्यले पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्। सोही क्रममा यस वर्ष पनि आकाश भैरवको प्रतिमा प्रदर्शन गरी मौलिक संस्कृति र परम्पराको संरक्षणमा समुदायले सक्रियता देखाएको हो।
प्रतिमा प्रदर्शन तथा सांस्कृतिक कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा संस्कृति प्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रमले नयाँ पुस्तालाई मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोड्नुका साथै लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ।