पूर्वउपराष्ट्रपति परमानन्द झाद्वारा नेपालमा पहिलो मैथिली गद्य ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ विमोचन

Date: 2026-09-26
news-banner
ललितपुर १० असोज : नेपालमा पहिलोपटक मैथिली भाषाको गद्य शैलीमा रचित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ ग्रन्थको शुक्रबार ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजको हलमा भव्य विमोचन गरिएको छ। प्रथम पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता तथा लेखिका अर्चना झाको सभाध्यक्षतामा सम्पन्न समारोह श्री मानव सेवा फाउन्डेसनको संस्थापक श्री विजय कृष्णमूर्ति महाराजको आयोजना तथा मधेसी प्राध्यापक सङ्घ र हिन्दु सम्राट नेपालको सहयोगमा भएको हो।


करिब १ लाख २१ हजारभन्दा बढी शब्द र ६१३ पृष्ठमा तयार गरिएको ग्रन्थमा महाभारतका १८ वटै पर्व समेटिएका छन्। मैथिली लोकभाका तथा मिथिला चित्रकलासमेत समावेश गरिएको यस कृतिका प्रकाशक विनयकुमार झा र सम्पादक प्रेम नारायण झा हुनुहुन्छ।विमोचन कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाभाषीका लागि यो ऐतिहासिक तथा उपयोगी ग्रन्थ भएको बताउँदै महाभारतजस्तो गहन ग्रन्थलाई सरल र सहज मैथिली गद्यमा प्रस्तुत गरेकोमा लेखिका अर्चना झालाई धन्यवाद दिनुभयो। आफूले पुस्तक ६१३ पन्ना भएकोमा करिब चार सयदेखि साढे चार सय पृष्ठ अध्ययन गरेको उल्लेख गर्दै उहाँले कठिन विषयवस्तुसमेत सहज रूपमा बुझिने गरी प्रस्तुत गरिएको बताउनुभयो। महाभारतलाई ‘पाँचौँ वेद’का रूपमा समेत लिइने उल्लेख गर्दै झाले यो ग्रन्थ मैथिली भाषाभाषीको घर–घरमा पुग्नुपर्ने धारणा राख्नुभयो।

श्री पशुपतिनाथ मन्दिरका मूलभट्ट (अर्चक) रावल गणेश भट्टले मैथिली भाषा, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्द्धनमा ग्रन्थले महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै लेखिका झालाई धन्यवाद तथा शुभकामना दिनुभयो। महाभारत विश्वका महत्वपूर्ण तथा व्यापक रूपमा पढिने ग्रन्थमध्ये एक भएको उल्लेख गर्दै उहाँले मैथिलीमा प्रस्तुत गरिएको यस कृतिको अध्ययन गर्न सबैलाई आग्रह गर्नुभयो।


लेखिका अर्चना झाले गहन अध्ययन, अनुसन्धान, मनन र साधनापछि महाभारतलाई आफ्नै शैलीमा सरल, सहज र पठनीय मैथिली गद्यमा प्रस्तुत गरिएको बताउनुभयो। उहाँले यो कृति कुनै पुस्तकको हुबहु अनुवाद नभएको स्पष्ट पार्दै धर्म, कर्म, संस्कार, संस्कृति, सभ्यता, राजनीति, राज्यनीति, न्याय, कूटनीति र मानवीय जीवनमूल्यका विविध पक्ष समेटिएको जानकारी दिनुभयो। साथै श्रीमद्भगवद्गीताको आध्यात्मिक तथा दार्शनिक सन्देश र महाभारतका महिला पात्रहरूको संघर्ष, त्याग, शक्ति र योगदानलाई समेत विशेष स्थान दिइएको उहाँले बताउनुभयो।

प्रतिनिधिसभाका सांसद नितिमा कार्कीले कृति मिथिलाञ्चल मात्र नभई नेपाली साहित्यकै लागि महत्वपूर्ण ऐतिहासिक दस्ताबेज बन्ने धारणा व्यक्त गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य रुपा झाले पारिवारिक तथा घरायसी जिम्मेवारीसँगै यस्तो विशाल ग्रन्थ सिर्जना गर्नु उल्लेखनीय उपलब्धि भएको बताउनुभयो।


विश्व हिन्दू महासङ्घ नेपालका अध्यक्ष अरुणकुमार पाण्डेले ग्रन्थले नेपालको सनातन संस्कृति, ज्ञान, भक्ति र कर्मको परम्परालाई मातृभाषामार्फत नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

पत्रकार तथा विश्लेषक सिके लालले कृतिले मैथिलीभाषी समुदायमा महाभारतको ज्ञान, विश्वास र भावलाई मातृभाषामार्फत हस्तान्तरण गर्ने काम गरेको बताउनुभयो। सम्पादक प्रेम नारायण झाले ज्ञान, कर्म र भक्तिको समन्वय रहेको महाभारतलाई आफ्नै मातृभाषामा बुझ्ने अवसर यस ग्रन्थले प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। 

प्रकाशक विनयकुमार झाले मैथिली भाषा, संस्कृति, परम्परा र सभ्यताको संरक्षण तथा पुस्तान्तरणमा पुस्तक महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो।

 झाले यसअघि ‘अर्चनाकृत रामायण’ रचना गरेपछि प्राप्त पाठकको माया, हौसला र प्रेरणाबाट महाभारत लेखनतर्फ अघि बढेको बताउँदै यो कृति आफूमा मात्र सीमित नभई मैथिली भाषा, साहित्य, मिथिला संस्कृति र सनातन परम्पराप्रति समर्पित साझा सम्पदा भएको धारणा व्यक्त गर्नुभयो।


Leave Your Comments