ललितपुरबाट एमालेको केन्द्रिय सदस्य निर्वाचितलाई प्रेस चौतारीको बधाई तथा सम्मान

Date: 2025-12-26
news-banner
ललितपुर । केही दिनअघि काठमाडौंमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा ललितपुर जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्य तथा केन्द्रिय आयोगमा निर्वाचित सदस्यहरुलाई प्रेस चौतारी नेपाल ललितपुर जिल्ला समितिले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार चौतारीका केन्द्रिय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यता तथा जिल्ला समिती अध्यक्ष नवीन लुइँटेलको अध्यक्षतामा केन्द्रिय सदस्यहरुलाई बधाई ज्ञापन सम्पन्न गरिएको हो । ११ औँ महाधिवेशनमा ललितपुरबाट सुशीला नेपाल,हरिकृष्ण व्यन्जनकार,तारा सन्जेल, डा. टीका ढकाल र सन्तना दाहाल न्यौपाने केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् भने रामेश्वर श्रेष्ठ केन्द्रिय लेखा आयोगको सदस्यमा निर्वाचित भएका छन् । 

नवनिर्वाचित सदस्यहरुलाई महासचिव हिरामान लामा, एमाले ललितपुरका सचिव राम राउत, चौतारी जिल्ला इन्चार्ज इश्वरराज ढकाल लगायतले बधाई तथा सम्मानपत्र ज्ञापन गरेका थिए । कार्यक्रममा आफ्नो भनाई राख्दै पार्टी जिल्ला सचिव राम राउतले सङ्ख्याको हिसाबमा सानो भए तापनी पार्टीको जनवर्गीय संगठनको हिसाबले आफ्नो दायित्वप्रती सजक रहेको भन्दै चौतारीको प्रशंसा गरे । उनले नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई पार्टीमाथी भईरहेको चौतर्फी प्रहारको विरुद्धमा डटेर लाग्न शुभकामना व्यक्त गरे । केन्द्रिय सदस्यमा निर्वाचित हरिकृष्ण ब्यन्जनकारले पार्टी र प्रेस चौतारीको अत्यन्तै हार्दिकताको सम्बन्ध रहेको भन्दै संगठनले गरेको सम्मानले आफुहरुलाई आफ्नो दायित्त्वप्रती थप जिम्मेवारीबोध गराएको बताए । उनले हाल सामाजिक सन्जालको गलत प्रयोगले गलत कुरालाई सही बनाईरहेकाले प्रेस चौतारीले त्यस्ता गलत पक्षलाई चिर्न आवश्यक रहेको बताए । 


चौतारीका महासचिव हिरामान लामाले नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीलाई षड्यन्त्रको विरुद्धमा एक बनाउँदै आगामी निर्वाचनबाट निर्णायक राष्ट्रिय शक्ति बनाउनको लागि अहम भूमिका खेल्न आग्रह गरे । 

चौतारी ललितपुरका अध्यक्ष नवीन लुइँटेलले ललितपुरमा प्रेस चौतारी र पार्टीको अन्योन्याश्रीत सम्बन्ध रहेको भन्दै दु: खसुखको साथी रहेको बताए । चौतारी ललितपुरका सचिव सन्तोष दाहालले संगठनले विगतमा तीन तहको निर्वाचन सम्पन्न भएपश्चात पनि ललितपुरबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी संगठनको दायित्व पूरा गरेको बताए । त्यसैको निरन्तरता स्वरुप हाल पार्टी महाधिवेशनमा जिल्लाबाट केन्द्रिय कमिटिमा प्रतिनिधित्व गर्ने सबैलाई बधाई तथा शुभकामना ज्ञापन गरी पार्टी र संगठनको सम्बन्धलाई सुमधुर बनाएको दावी गरे ।


एघारौं महाधिवेशनबाट निर्वाचित सुशीला नेपाल र हरिकृष्ण व्यन्जनकार यसअघि पनि केन्द्रिय समितिमा पोलिटव्युरो सदस्य र जिल्ला इन्चार्जको भूमिकामा थिए । हाल तारा सन्जेल टीका ढकाल र सन्तना दाहाल भने केन्द्रिय कमिटिमा नयाँ अनुहार हुन् । रामेश्वर श्रेष्ठ यसअघि पनि लेखा आयोग सदस्य नै थिए ।

Leave Your Comments