सामुदायिक विद्यालयमा चरम राजनीति हावी भएको निकेश श्रेष्ठको आरोप
Date: 2026-01-01
ललितपुर - गोदावरी नगरपालिका वडा नं. ५ का समाजसेवी तथा अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले उक्त प्रक्रिया पारदर्शी, सहभागीमूलक र निष्पक्ष नभएको आरोप लगाएका हुन्।
श्रेष्ठका अनुसार आफ्ना छोरा–छोरीलाई महँगो निजी विद्यालयमा अध्ययन गराउने व्यक्तिहरूले सामुदायिक विद्यालयका वास्तविक अभिभावकलाई करिब तीन घण्टासम्म घाममा उभ्याएर भाषण सुनाउने, तर समिति गठनको निर्णायक समयमा भने अधिकांश अभिभावकलाई घर फर्काइ १०–१५ जना सीमित व्यक्तिको उपस्थितिमा समिति गठन गर्नु आपत्तिजनक कार्य हो।उनले अध्यक्ष बन्ने उद्देश्यले योजनाबद्ध रूपमा अभिभावकलाई हटाई ६–७ जनाको सीमित घेरामा समिति गठन गरिएको दाबी गरे। यस विषयमा प्रश्न उठाउँदा सम्बन्धित जिम्मेवार पक्षले पन्छिने गरेको, साथै सामाजिक सञ्जाल, समुदायका अभिभावक तथा भूतपूर्व विद्यार्थीलाई कुनै जानकारी नै नदिई समिति गठन गरिएको उनको आरोप छ।
“तपाईंहरूको योजना सफल भयो,” भन्दै श्रेष्ठले अध्यक्ष पदका लागि मानिस कति हदसम्म लोभी हुन सक्छ भन्ने कुरा गोप्य कोठामा गरिएको समिति गठनले प्रष्ट पारेको टिप्पणी गरे।आफू, आफ्ना बुवा र दिदी सोही विद्यालयका भूतपूर्व विद्यार्थी भएको उल्लेख गर्दै श्रेष्ठले विद्यालयप्रतिको भावनात्मक सम्बन्धका कारण सुधारको अपेक्षामा आफू सहभागी भएको बताए। उनका अनुसार उनका बुवा कक्षा १२ सञ्चालनको सुरुआती समयमा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिका सदस्य थिए भने उनकी दिदी कक्षा १२ को पहिलो ब्याचकी टपरसमेत थिइन्।
एसएलसी पासआउटसमेत रहेका श्रेष्ठले आफूलाई कुनै पद, माला वा आतिथ्यको लोभ नरहेको स्पष्ट पार्दै शिक्षा क्षेत्रमा भइरहेको चरम राजनीतिक हस्तक्षेपको कडा विरोध गरे।“म विद्यालयको मायाले आएको हुँ, सुधार होस् भन्ने चाहना मात्रै हो,” उनले भने। यस घटनाले गोदावरी–६ क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा पारदर्शिता, सहभागिता र निष्पक्ष व्यवस्थापन कत्तिको सुनिश्चित छ भन्ने विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ।