मैथिली "अर्चनाकृत रामायण" की लेखिका अर्चना झा "राष्ट्रिय धरोहर नारीरत्न" सम्मानबाट विभूषित

Date: 2026-01-01
news-banner
  • काठमाडौँ १७ पुष : मैथिली साहित्यकृति ‘अर्चनाकृत रामायण’ की लेखिका साहित्यकार तथा पत्रकार अर्चना झा २०८२ सालको “राष्ट्रिय धरोहर नारीरत्न” सम्मानबाट सम्मानित हुनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माननीय जगदीश खरेलले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको छ।

१३औँ पोसाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रम पर्यटन बोर्डको सभाहल, काठमाडौँमा भएको थियो । कार्यक्रममा सभाध्यक्षको भूमिकामा प्रतिष्ठानका संस्थापक राजनन्द माण्डव्य रहनुभएको थियो।

सम्मान प्रदान गर्दै मन्त्री खरेलले, 'राष्ट्रिय पहिचान संरक्षण सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो।' उहाँले भन्नुभयो, 'राष्ट्रिय पोशाक र टोपीले नेपाली पहिचानलाई विश्वसामु चिनाउने महत्त्वपूर्ण माध्यम हो। यसको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ। जहाँ नेपाली छन्, त्यहाँ नेपाली पहिचान जोगाउनु हाम्रो साझा दायित्व हो।' 

कार्यक्रमका सभाध्यक्ष श्री राजनन्द माण्डव्यले राष्ट्रिय संस्कृति र धरोहरको संरक्षण राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,'राष्ट्रिय पोशाक दिवस र अन्तर्राष्ट्रिय टोपी दिवसले नेपाली मौलिक पहिचानलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।'यसअघि पनि साहित्यकार अर्चना झाले संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्रीप्रसाद पाण्डेको हातबाट ‘सीताको उपाधि’ सम्मान प्राप्त गरिसक्नुभएको छ।

सम्मान ग्रहणपछि अर्चना झाले आफूलाई यस सम्मानका लागि योग्य ठानी विश्वास व्यक्त गर्ने आयोजक संस्था, सभाध्यक्षज्यू तथा सम्पूर्ण पदाधिकारीहरूप्रति हृदयदेखि धन्यवाद ज्ञापन गर्नुभयो। साथै, सो अवसरमा सँगै सम्मानित भएका सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपालको मौलिक पहिचान झल्काउने राष्ट्रिय पोशाक हाम्रो गौरव हो। अन्तर्राष्ट्रिय टोपी दिवसले नेपाली टोपीमार्फत विश्वभर नेपालीपन चिनाउने अवसर दिएको छ। यस्ता दिवसहरूले हाम्रो संस्कृति, परम्परा र पहिचान जोगाइराख्न सबैलाई प्रेरणा दिन्छन्।”
झाले, प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफूमा विश्वास गर्ने शुभेच्छुक, परिवारजन, नारी, "सहकर्मी तथा समाजको साझा सम्मानका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय धरोहर संरक्षण, संस्कृति प्रवर्द्धन तथा नारी सशक्तीकरणका पक्षमा अझ जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।"

कार्यक्रममा साहित्य, कलाकारिता, पत्रकारिता, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave Your Comments