ललितपुर–१२ मा नेपाल भाषा, नेवा: नाच र कासा सम्बन्धी तीन महिने प्रशिक्षण सञ्चालन

Date: 2026-01-08
news-banner
ललितपुर-  ललितपुर महानगरपालिका वडा नं. १२ को आर्थिक सहयोग तथा यल अध्ययन केन्द्रको आयोजनामा नेपाल भाषा, नेवा: प्याखं (नृत्य) र नेवा: कासा (संगीत) सम्बन्धी तीन महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा आएको छ।

कार्यक्रम सुरु भएको एक हप्ता पछि अभिभावकहरूसँग अन्तरक्रिया गरी उनीहरूबाट प्राप्त सल्लाह–सुझावलाई समेट्दै कक्षाहरूलाई अझ प्रभावकारी बनाइएको यल अध्ययन केन्द्रले जनाएको छ। अभिभावकको अपेक्षा अनुरूप कक्षा निरन्तर सञ्चालन गरिएको छ भने कक्षालाई दुई भागमा विभाजन गरी अध्यापन गरिँदै आएको छ।

यल अध्ययन केन्द्रका अध्यक्ष तुलसीलाल सिंहले ललितपुर महानगरपालिका अन्तर्गत नेपाल भाषा पढाउने शिक्षक–शिक्षिकालाई सक्रिय बनाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको बताउनुभयो। उहाँका अनुसार निजी विद्यालयहरूमा नेपाल भाषा, संस्कृति तथा सम्पदा पढाइ नहुने अवस्था रहेकाले नगरपालिकाका विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको समयको सदुपयोग गर्दै भाषा र संस्कृति संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको हो।


नेपाल भाषा प्रशिक्षक रचना महर्जनले ७ देखि १० वर्ष र १० देखि १४ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार क्राफ्ट, सोमबार नेवा: नाच, मंगलबार र बुधबार नेपाल भाषा, बिहीबार धिमे प्याखं र शुक्रबार नेवा: कासा कक्षा सञ्चालन हुँदै आएको छ। कला र संस्कृतिसँग बालबालिकालाई भिजाउने उद्देश्यले य: मरि बनाउने तथा खुवाउने कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो। साथै, समय–समयमा नयाँ सिकाइ विधि (स्यनामि) प्रयोग गरी कक्षा सञ्चालन भइरहेको छ।

प्रशिक्षक  रेश्मी महर्जनले नेपाल भाषा, धिमे नाच, आर्ट एण्ड क्राफ्टमार्फत मौलिक कला र संस्कृति संरक्षणमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो।
भाषा तर्फ एक महिनाको अन्तरालमा छेँ–छेँज:, ल्या:, खँग्व:र र हाल लजगा: (पेसा) सम्बन्धी पाठ्यक्रम सिकाइ भइरहेको छ। कासा तर्फ रुमाल कासा, ताहा कासा, चाक: कासा, कानकानपिच्चा कासा, कोठाय् दुने म्हितिगु कासा, न्याल्ला ब्यां कासा, दथुपतिं मालेगु कासा तथा थ्व छु ध्वाखा कासा अभ्यास गराइसकिएको छ। क्राफ्ट कक्षामा छें बनाउन सिकाइ भइरहेको छ।

हालसम्म ५५ जना बालबालिकाहरूले निरन्तर रूपमा कक्षामा सहभागिता जनाइरहेका छन्।


Leave Your Comments