च्वबु गाहिटी टोल सुधार समितिको सामुदायिक भवन उद्घाटन

Date: 2026-01-17
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं। ११ अन्तर्गत च्वबु–गाहिटी, यलस्थित च्वबु गाहिटी टोल सुधार समितिको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभएको हो।

उद्घाटन समारोहमा स्थानीय बासिन्दाहरू, टोल सुधार समितिका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले समुदायको सक्रिय सहभागिताबाट मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले सामुदायिक भवनहरू सामाजिक एकता, आपसी सहकार्य र मौलिक संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ११ का वडा सदस्य कृष्ण महर्जनले च्वबु गाहिटी टोल सुधार समितिले गरेको पहलको प्रशंसा गर्दै नवनिर्मित सामुदायिक भवनले स्थानीय समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो भवन केवल संरचना मात्र नभई टोलको सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधिको केन्द्र बन्नेछ। यहाँबाट युवाहरूलाई लक्षित रोजगारीमूलक तालिम, महिलाहरूका लागि सीप विकास कार्यक्रम तथा स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिहरू सञ्चालन गर्न सकिनेछ।”
वडा सदस्य महर्जनले स्थानीय मौलिक सम्पदा र संस्कृतिको संरक्षणमा टोल सुधार समितिहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सामुदायिक संरचनाबाट आउने पुस्तालाई संस्कार, संस्कृति र सामाजिक मूल्य हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो। 

च्वबु गाहिटी टोल सुधार समितिले नवनिर्मित भवनबाट टोलस्तरीय भेला, बैठक, सांस्कृतिक कार्यक्रम, परम्परागत पर्व–उत्सव, योग तथा ध्यान अभ्यास, स्वास्थ्य सचेतना कार्यक्रम र सीपमूलक तालिमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ। यसले स्थानीय समुदायबीच आपसी सद्भाव, सहभागिता र सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।स्थानीय बासिन्दाहरूले सामुदायिक भवन निर्माणपछि टोलभित्र सामूहिक गतिविधि सञ्चालन गर्न सहज भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता संरचनाले सामाजिक समस्या समाधान, सामूहिक निर्णय र समुदायको समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउनेछ।

कार्यक्रमको अन्त्यमा आयोजक च्वबु गाहिटी टोल सुधार समितिले भवन निर्माणमा सहयोग पुर्‍याउने ललितपुर महानगरपालिका, वडा कार्यालय, जनप्रतिनिधि तथा स्थानीय समुदायप्रति धन्यवाद ज्ञापन गरेको थियो। नवनिर्मित सामुदायिक भवनले च्वबु गाहिटी क्षेत्रको सामाजिक, सांस्कृतिक र सामुदायिक विकासमा दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

Leave Your Comments