ढोलक र बाँसुरीको ६ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Date: 2026-01-22
news-banner
ललितपुर । हौगः मंका खलःको आयोजनामा तथा ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा सञ्चालन गरिएको ढोलक र बाँसुरीको ६ महिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 

नेवार समुदायको मौलिक कला, संस्कृति तथा परम्परागत संगीत संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालीमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले नेवास् संस्कृति नेपालको पहिचानको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै यस्ता दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरूले परम्परागत कला र संगीत जगेर्नामा उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो। उहाँले आधुनिकताको प्रभावका कारण लोप हुँदै गइरहेका परम्परागत वाद्ययन्त्र र सांगीतिक विधालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो।

ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक तथा वडा नं। ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले नेवार समुदायको मौलिक कला, संस्कृति र परम्परागत संगीत संरक्षण तथा प्रवर्द्धन महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले हौगः मंका खलःले समुदायस्तरबाट यस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेर संस्कृतिको संरक्षणमा उदाहरणीय भूमिका खेलेको भन्दै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। 


छ महिना अवधिसम्म सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय युवा–युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रशिक्षण अवधिभर सहभागीलाई ढोलक र बाँसुरी वादनका आधारभूत सिद्धान्तदेखि उन्नत तथा प्रयोगात्मक अभ्याससम्म व्यवस्थित रूपमा सिकाइएको आयोजकले जनाएको छ। साथै, ताल, लय, सांगीतिक संरचना र सामूहिक वादनसम्बन्धी व्यावहारिक ज्ञानसमेत प्रदान गरिएको थियो।समापन कार्यक्रममा तालीम सफलतापूर्वक पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उनीहरूले ढोलक र बाँसुरी वादनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। प्रशिक्षार्थीहरूको प्रस्तुतिले उपस्थित अतिथि तथा स्थानीयवासीहरूलाई उत्साहित बनाएको थियो।कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले यस्ता तालीम कार्यक्रमहरूले युवा पुस्तालाई आफ्नै संस्कृति र परम्पराप्रति आकर्षित गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। उनीहरूले भविष्यमा पनि यस्ता दीर्घकालीन प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

हौगः मंका खलःले आगामी दिनमा पनि नेवास् संस्कृति, कला र संगीत संरक्षण तथा प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।



Leave Your Comments