हरिसिद्धिमा फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया सेवा उपलब्ध
Date: 2026-01-26
ललितपुर - ललितपुर महानगरपालिका २९ हरिसिद्धिमा फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया सेवा सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ। यही माघ १५ र १६ गते उक्त सेवा जलः आँखा तथा कान उपचार केन्द्र, हरिसिद्धिमा सञ्चालन हुने छ।
ललितपुर महानगरपालिका वडा नं. २९ को आयोजना तथा सगरमाथा चौधरी लाहान अस्पतालको प्राविधिक सहयोगमा उक्त शल्यक्रिया सेवा प्रदान गर्न लागिएको हो। यसअघि पनि वडा नं. २९ मा दुई पटक “आँखा शिविर” सञ्चालन भइसकेको छ, जसबाट स्थानीय बासिन्दाहरू लाभान्वित भएका थिए।आँखाको उपचारलाई सर्वसुलभ, गुणस्तरीय तथा स्थायी रूपमा घरआँगनमै उपलब्ध गराउने उद्देश्यले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा २०८१ जेठ ३१ गते उद्घाटन भई जलः आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा आएको हो। हाल सो केन्द्रमार्फत आँखाका सबै प्रकारका उपचार सेवा सर्वसुलभ रूपमा उपलब्ध गराइँदै आएको छ।
ललितपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले आँखाको उपचार सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यका साथ यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको बताउँदै, माघ १५ र १६ गते सञ्चालन हुने मोतिबिन्दु शल्यक्रिया सेवाबाट लाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।