शहीद सागर सिंह र ज्ञानबहादुर शाहीको स्मृतिमा दोस्रो कराँते प्रतियोगिता उद्घाटन
Date: 2026-01-30
ललितपुर - नेपाल सितोरियो कराँते–डो प्रयाग पोखरी डोजो, ललितपुरको आयोजनामा तथा ललितपुर महानगरपालिकाको प्रायोजन र गोदावरी नगरपालिकाको सह–प्रायोजनमा प्रजातान्त्रिक जनआन्दोलनका शहीदहरू सागर सिंह र ज्ञानबहादुर शाहीको स्मृतिमा दोस्रो कराते प्रतियोगिताको उद्घाटन गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य माननीय रामकृष्ण चित्रकारले शहीदहरूले देखाएको समृद्ध र स्वतन्त्र नेपालको चाहनालाई साकार पार्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदले स्वस्थ, अनुशासित, मानसिक, सामाजिक तथा बौद्धिक रूपमा सक्षम नागरिक निर्माण गर्न सहयोग पुर्याउने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रमका संयोजक मनोजबहादुर न्याँछोले प्रयाग पोखरी डोजो २०३९ सालमा स्थापना भएको जानकारी दिँदै यस डोजोबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भइसकेको बताउनुभयो। उहाँले खेलकुदसँगै सामाजिक तथा अन्य सामुदायिक कार्यक्रमहरूमा समेत डोजो सक्रिय रहँदै आएको जानकारी दिनुभयो।
ललितपुर महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यले खेलकुद विकाससँगै आपसी भाइचाराको भावना, स्वास्थ्य र अनुशासनको विकास हुने उल्लेख गर्नुभयो।
कार्यक्रमकै अवसरमा माननीय रामकृष्ण चित्रकारले रेफ्री दिनेश शाहीलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो। साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा खेलाडीहरूद्वारा काटा प्रदर्शन समेत गरिएको थियो।