स्वस्थ समाज निर्माणमा खेलकुद अपरिहार्य : मुख्यमन्त्री बानियाँ
Date: 2026-01-31
ललितपुर - नेपाल सितोरियो कराँते–डो प्रयाग पोखरी डोजो, ललितपुरको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाले खेलकुद मानिसको शारीरिक स्वास्थ्य, अनुशासन र नैतिक शिक्षाका लागि अनिवार्य भएको बताएका छन्।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले खेलकुदले गुरुलाई सम्मान गर्ने संस्कार, आत्मअनुशासन र सकारात्मक सोच विकास गर्ने उल्लेख गरे। उनले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम अघि बढाइरहेको स्पष्ट पारे।गणतन्त्रबारे आफ्नो धारणा राख्दै मुख्यमन्त्री बानियाले भने, “टुप्पी भन्दा माथि रौँ हुँदैन, गणतन्त्रभन्दा माथि जनताको अन्तिम व्यवस्था हुँदैन। गणतन्त्र जनताको अन्तिम सत्य र जनताको न्याय हो।” यसको स्थापनाका लागि जनताले धेरै रगत बगाइसकेको स्मरण गराउँदै अब थप रगत बगाउन नहुने उनले बताए।
हालै समाजमा देखिएका असन्तुष्टि र प्रदर्शनप्रति संकेत गर्दै मुख्यमन्त्री बानियाले युवालाई दुरुपयोग गरिएको हुन सक्ने बताए। सामाजिक सञ्जाल बन्द नगरिनुपर्ने मागसहित भएको पछिल्लो प्रदर्शनलाई उनले २०७२ सालको भूकम्पजस्तै “अकल्पनीय अप्राकृतिक प्रकोप” को संज्ञा दिँदै यस्ता गतिविधिबाट समाजले गम्भीर पाठ सिक्नुपर्ने धारणा व्यक्त गरे।उनले प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यसप्रति सबै सचेत र होसियार हुनुपर्नेमा जोड दिए। प्रदेश संरचना पहिचान, भूगोल र प्रतिस्पर्धासँग जोडिएको विषय भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको मूल जिम्मेवारी जनतालाई सेवा दिनु र विकासमुखी नीति निर्माण गर्नु भएको बताए।
मुख्यमन्त्री बानियाले बागमती प्रदेश सरकार गरिबमुखी, आयमुखी, सेवामुखी, विकासमुखी, गाउँमुखी तथा जनमुखी काम गर्ने संकल्पका साथ अघि बढिरहेको पनि जानकारी गराए।