ललितपुर वडा नं. १२ मा सात दिने लेखा व्यवस्थापन तालिम सुरु

Date: 2026-02-02
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. १२ को आर्थिक सहयोग तथा हाम्रो प्रयास संस्थाको आयोजनामा सात दिने लेखा व्यवस्थापन तालिम सुरु गरिएको छ। समुदायस्तरमा सञ्चालन हुँदै आएका महिला समूह, संस्थागत समूह तथा सामाजिक संस्थाहरूको आर्थिक पारदर्शिता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिम कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. १२ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष सानु अवालेले गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले समूह तथा संस्थाहरूको दिगो विकासका लागि लेखा व्यवस्थापन अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै यस्ता तालिमहरूले स्थानीय तहमा सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै वडा सदस्य तथा वडा कमिटी महिला कमिटीकी संयोजक सशिता महर्जनले महिला समूहको आर्थिक हिसाबकिताब व्यवस्थित र पारदर्शी भए मात्र महिला समूह उत्कृष्ट र दिगो बन्न सक्ने बताउनुभयो। उहाँले महिलाहरू आर्थिक रूपमा सबल बन्न लेखा व्यवस्थापनसम्बन्धी ज्ञान अपरिहार्य रहेको उल्लेख गर्नुभयो।त्यसैगरी वडा सदस्य जीवन गोविन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमबाट सहभागीहरूले प्राप्त गर्ने व्यवहारिक ज्ञानलाई आफ्ना समूह तथा संस्थामा प्रभावकारी रूपमा लागू गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

तालिममा शान्त खड्गीले प्रशिक्षण प्रदान गर्नुभएको छ। तालिमअन्तर्गत आम्दानी–खर्च विवरण, अभिलेख व्यवस्थापन, बजेट योजना तथा प्रतिवेदन तयारीलगायत विषयमा व्यवहारिक प्रशिक्षण दिइएको छ।आयोजकका अनुसार यस तालिमले स्थानीय महिला समूह तथा सामाजिक संस्थाहरूको आर्थिक व्यवस्थापन क्षमता अभिवृद्धि भई संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


Leave Your Comments