थसिखेल महिला समुहद्वारा १५ दिने डल तथा कुसन बनाउने तालिम सुरु
Date: 2026-02-02
ललितपुर - “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यका साथ ललितपुर महानगरपालिका वडा नं. ५, थसिखेल महिला समूहको आयोजनामा तथा ललितपुर महानगरपालिका समाजकल्याण महाशाखा र सामाजिक विकास समितिको सहयोगमा १५ दिने डल तथा कुसन बनाउने तालिम सुरु भएको छ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले थसिखेल महिला समूहले सिकेको सीपलाई व्यवहारमा उतार्दै आएको उल्लेख गर्नुभयो। उहाँले यो महिला समूह ललितपुर महानगरपालिकाकै उत्कृष्ट महिला समूह बन्न सफल भएको बताउँदै, यस्ता सीपमूलक तालिममार्फत महिलाहरूले घरमै बसेर पनि आयआर्जन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. ५ की महिला सदस्य शोभादेवी प्रदान श्रेष्ठले आफूले सिकेको सीप अरूसँग बाँड्दै जाँदा ज्ञान अझ बढ्ने बताउनुभयो। थसिखेल महिला समूहले हरेक गतिविधि जिम्मेवारीपूर्वक र सफलतापूर्वक सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो।त्यसैगरी वडा सदस्य अशोककुमार श्रेष्ठले सिकेका सीपको सही सदुपयोग गर्न आग्रह गर्दै महिलाहरूले आफैंले तयार पारेका डल तथा सामग्रीहरू महिनाको अन्तिम शनिबार आयोजना हुने बजाररस्लटमार्फत बिक्री गरी आयआर्जन गर्न सक्ने अवसर रहेको बताउनुभयो।
कार्यक्रममा थसिखेल महिला समूहकी पूर्व अध्यक्ष बसन्ती रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने समूहकी अध्यक्ष पुष्पा श्रेष्ठले समूह गठनपछि सदस्यहरूबीच आत्मीयता र सहकार्य अझ प्रगाढ हुँदै गएको बताउनुभयो। उहाँले यस्ता तालिमहरूले महिलालाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
तालिमको प्रशिक्षण कल्पना कार्कीले प्रदान गरिरहनुभएको छ। १५ दिनसम्म सञ्चालन हुने यस तालिमबाट सहभागी महिलाहरू व्यावसायिक रूपमा डल तथा कुसन निर्माण गर्न सक्षम हुने अपेक्षा गरिएको छ।