लोंल टोलमा आकाश भैरवको पूजाआजासहित पुनःस्थापना

Date: 2026-02-07
news-banner
ललितपुर - काठमाडौं उपत्यकाको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्ने उद्देश्यसहित ललितपुर महानगरपालिका वडा नं. ९ अन्तर्गत रहेको लोंहल टोलमा आकाश भैरवको पुनःस्थापना गरी विधिवत् पूजाआजा सम्पन्न गरेर विराजमान गरिएको छ। करिब दुई सय वर्षदेखि लोप अवस्थामा पुगेको यस परम्पराको पुनर्जीवनसँगै टोलमा धार्मिक आस्था, सांस्कृतिक चेतना तथा सामाजिक एकता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नेवा समुदायको, विशेषतः ज्यापु जातिसँग गहिरो रूपमा सम्बन्धित आकाश भैरवको इतिहास करिब तीन हजार वर्ष पुरानो मानिन्छ। इन्द्र जात्राको अवसरमा विशेष महत्व राख्ने आकाश भैरव परम्परा लोंहल टोलमा कुनै समय नियमित रूपमा पूजाआजा तथा जात्रासहित सञ्चालन हुँदै आएको थियो। तर समयक्रमसँगै संरक्षणको अभाव, सामाजिक परिवर्तन र पुस्तान्तरणको निरन्तरता नहुँदा यो परम्परा झण्डै दुई शताब्दीअघि लोप हुन पुगेको थियो।यसै सन्दर्भमा लोंहल टोल सुधार समितिको पहलमा स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा आकाश भैरवको पुनर्निर्माण तथा पुनःस्थापना सम्पन्न गरी धार्मिक विधिअनुसार पूजाआजा गर्दै विराजमान गरिएको हो। पुनःस्थापनाको अवसरमा परम्परागत पूजा, संस्कार र विधिहरू सम्पन्न गरिनुका साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


लोंहल टोल सुधार समितिका सचिव तथा आकाश भैरव पुनर्निर्माण परियोजनाका संयोजक सुजिब महर्जनले विगत करिब २०० वर्षदेखि लोप हुँदै आएको आकाश भैरवलाई पुनः पूर्ण रूपमा स्थापना गरी पूजाआजा सहित विराजमान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो। उहाँले कला, संस्कृति र सम्पदाहरू संरक्षणको अभावमा हराउँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै यस्ता सम्पदाहरूलाई जगेर्ना गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो।महर्जनका अनुसार पुर्खाहरूले छोडेर गएका सांस्कृतिक धरोहरहरू—चाहे ती मूर्त हुन् वा अमूर्त—लाई संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु नै समुदायको मूल मान्यता हो। उहाँले हराउँदै गएका जात्रा, संस्कार र परम्पराहरूलाई पुनः सञ्चालन गरी निरन्तरता दिन सके मात्र हाम्रो मौलिक पहिचान जोगाउन सकिने बताउनुभयो। आकाश भैरवको पुनःस्थापनाले टोलमा एकता, सद्भाव र सहकार्यको भावना अझ मजबुत बनाउने उहाँको विश्वास छ।


स्थानीयवासीहरूका अनुसार पूजाआजा सहित आकाश भैरवको पुनःस्थापनाले लोंहल टोलको ऐतिहासिक पहिचानलाई पुनः उजागर गर्नुका साथै नयाँ पुस्तामा आफ्नो धर्म, संस्कृति र परम्पराप्रति चासो तथा सम्मानको भावना विकास गराउनेछ। यसले सामाजिक जीवनलाई थप सक्रिय र सुदृढ बनाउने अपेक्षा गरिएको छ।

आकाश भैरव पुनःस्थापनाको यो पहल नेवा समुदायको सांस्कृतिक पुनर्जागरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। स्थानीय समुदायको एकता, सक्रियता र समर्पणबाट सम्पन्न यस कार्यले अन्य टोल तथा समुदायलाई पनि आफ्ना हराउँदै गएका धार्मिक–सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण तथा पुनर्जीवनतर्फ प्रेरणा दिने विश्वास गरिएको छ।


Leave Your Comments