नरबहादुर कर्मचारी स्मृति चेसमा सोम आलेको उत्कृष्ट सुरुवात

Date: 2026-02-07
news-banner
ललितपुर - नरबहादुर कर्मचार्य स्मृति र्‍यापिड रेटिङ १९ सय मुनिको चेस प्रतियोगितामा ललितपुरका सोम आलेले पहिलो दिन सम्पन्न 
चारै चरणका सबै खेल जित्दै उपाधि जित्ने बलियो दाबेदारी प्रस्तुत गरेका छन्।

वामपन्थी नेता स्वर्गीय नरबहादुर कर्मचारीको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासको लागि गठन भएको प्रतिष्ठान द्वारा आयोजित दुई दिने स्पर्धामा १८१८ रेटेड सोम आलेले क्रमशः सुनभ ओझा, मिसन पराजुली, सजल न्यौपाने र बिजेश राजकर्णिकार माथि जीत दर्ता गरेका हुन्।ललितपुर महानगर वडा नम्बर ११ स्थित आल्को हिटीमा चलेको प्रतिस्पर्धामा १८९७ रेटेड मिसन दाहाल, १९५६ रेटेड हेमराज भण्डारी, भारतका १८११ रेटेड शुभम कुमार, अनरेटेड प्रशान्त गुरुङ र १८३० रेटेड दीपक महर्जन समान ४ अंक जोडेर संयुक्त रूपमा अग्रता लिन सफल भएका छन्। फिडे कोड ४६१९७८ अन्तर्गत १५७ जना खेलाडी सहभागि मध्ये विराटनगरका १८९८ रेटेड ज्वाला इम्बुङ, मकवानपुरका १८१० रेटेड फुर्वालामा, दोलखाका १८६९ रेटेड राजिव कार्की, भक्तपुरका १८०१ रेटेड हर्कबहादुर चोङ्बाङ र काठमाडौँका १८१८ रेटेड सुरज सिंह समान ३।५ अंक बनाएर संयुक्त दोस्रो स्थानमा छन्।
नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा सञ्चालन भइरहेको नरबहादुर कर्मचारी स्मृति चेस खेलका विजेताले कुल नगद पुरस्कार रु १ लाख ७१ हजार प्राप्त गर्नेछन्। 


भारतीय र नेपाली खेलाडी बीच अब्बल खेलाडीले नगद रु।२५ हजार, द्वितीयले १० हजार, तृतीय ८ हजार, चौथोले ७ हजार पुरस्कार हात पार्नेछन्। यस्तै पाँचौं देखि दशौं सम्मका विजेताले समान नगद ६ हजार पाउने छन्।यसैगरी विभिन्न विधागत पुरस्कृत हुनेमा उत्कृष्ट महिला शीर्ष तिन, उत्कृष्ट स्थानीय शीर्ष तिन, उत्कृष्ट नव प्रवेशी शीर्ष तिन, सिनियर खेलाडी ५५ वर्ष र ६० वर्ष माथि, उत्कृष्ट रेटेड १६ १७ र १८ सय, उत्कृष्ट युवा छात्र छात्रा ८, १०, १२, १४ र १६ वर्ष उमेर समूहका गरि ३४ जना खेलाडि पुरस्कृत हुनेछन्।

खेलपूर्व संयोजक सानुराज बज्राचार्यको सभापतित्वमा नेकपाका नेत्रृ पम्फा भुसाल र वडा ११ अध्यक्ष अरोज कुमार खड्गीले चेस गोटी चालेर संयुक्त रुपमा उद्घाटन गरेका छन्।नेतृ पम्फा भुसालले बौद्धिक खेल बुद्धिचालसँग वामपन्थी नेताको नाम जोडेर प्रतियोगिता आयोजना गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। 

ललितपुर महानगरपालिका ११ वडाका अध्यक्ष अरोजकुमार खड्गीले ३० वर्ष पछि वडामा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल खेल आयोजना भइरहेको जानकारी गराउदै ३० वर्ष अगाडि कुम्भेश्वरमा यस्तै खालको प्रतियोगिता पटक पटक गरेको स्मरण गराए ।

कार्यक्रममा पूर्व जिल्ला विकास समितिका अध्यक्ष माधव पौडेल, महासङ्घका प्रवक्ता राजु ताम्राकार, अन्तर्राष्ट्रिय रेफ्री ज्ञानेन्द्र खाइजु, फिडर आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।



Leave Your Comments