निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा
Date: 2026-02-13
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। झापाबाट फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतका लागि ठूलो संख्यामा मानिसहरू विमानस्थल क्षेत्रमा भेला हुने तयारी भएपछि प्रशासनले सतर्कता बढाएको हो।
स्थानीय प्रशासनले विमानस्थल क्षेत्रलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ। विमानस्थलदेखि निर्मल निवाससम्मका मार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित भीड व्यवस्थापन र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय सक्रिय पारिएका छन्।
राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं अवतरण गरेलगत्तै स्वागत कार्यक्रम आयोजना गर्ने जनाएको छ। त्यसैलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा पनि अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ।
बिहानैदेखि विमानस्थल प्रवेश गर्ने व्यक्तिहरूमाथि कडाइका साथ चेकजाँच भइरहेको छ। विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार चेकजाँच सुरक्षा प्रक्रियाअनुसार नियमित रूपमा गरिने कार्य भए पनि आज विशेष सतर्कता अपनाइएको हो।
प्रशासनले सर्वसाधारणलाई अनावश्यक भीडभाड नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। पूर्वराजाको आगमनसँगै राजधानीमा सुरक्षा सतर्कता उच्च स्तरमा राखिएको छ।