म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए ।‘रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्’, बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको लाममा फस्नुभएको उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ ।’
‘पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ’, उनले भने, ‘हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।’ रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । मंगलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा २६च ७०५३ नम्बरको इको भ्यान पुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुइठेभिरमा गुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो ।
पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन् ।