रातो मछिन्द्रनाथ जात्रा नजिकिँदै, रथका पाङ्ग्रा निर्माण अन्तिम चरणमा

Date: 2026-03-12
news-banner
ललितपुर - ललितपुरमा प्रसिद्ध रातो मछिन्द्रनाथ जात्राका लागि रथका नयाँ पाङ्ग्रा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगजनीका कारण क्षतिग्रस्त भएका पाङ्ग्राको सट्टा परम्परागत शैलीमै नयाँ पाङ्ग्रा बनाइएको हो।।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा रातो मछिन्द्रनाथ को रथका दुई वटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएका थिए। त्यसपछि रथ निर्माण समूहले नयाँ पाङ्ग्रा निर्माण सुरु गरेको हो।रथ निर्माण समूहका नाइके दिलकुमार बाराहीका अनुसार मछिन्द्रनाथको रथका पाङ्ग्रा सामान्यतया प्रत्येक १२ वर्षमा एक पटक मात्र बनाउने परम्परा रहेको छ। तर आगजनीबाट क्षति पुगेपछि यसपटक नयाँ पाङ्ग्रा निर्माण गर्नुपरेको उनले बताए। आगामी वर्ष हुने १२ वर्षे जात्राका लागि पुनः नयाँ पाङ्ग्रा बनाउनु पर्ने  उनको भनाइ छ।

नयाँ पाङ्ग्रा निर्माण कार्य माघ ९ गतेदेखि सुरु गरिएको हो। अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको र भोलिसम्म पाङ्ग्रा तयार हुने बाराहीले जानकारी दिए।परम्पराअनुसार पाङ्ग्राको तीन पटक विशेष पूजा गरिन्छ। श्रीपञ्चमीका दिन पहिलो पूजा गरिएको थियो भने प्वंचास् ठहराउने बेला दोस्रो पूजा सम्पन्न गरिएको छ। अब अन्तिम पूजा शनिबार दशमीका दिन पानेजुहरूबाट गरिनेछ। सो क्रममा भेडाको बलि दिएर पूजा गर्ने परम्परा पनि रहिआएको छ। पाङ्ग्रा पूजा सम्पन्न भएपछि विश्वकर्मा पूजा गर्ने चलन रहेको जानकारी दिइएको छ।

यस वर्षको रातो मछिन्द्रनाथ जात्रा अन्तर्गत २०८२ साल वैशाख ५ गते रथारोहण गरिनेछ भने वैशाख ८ गतेदेखि रथयात्रा सुरु हुने कार्यक्रम तय गरिएको छ।

Leave Your Comments