ललितपुर झरुवारासीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान सुरु

Date: 2026-03-19
news-banner
ललितपुर - रामनवमीको पवित्र अवसर पारेर श्री १०८ श्रीमद्भागवत स्वर्णकल्याण सेवा परिषद्को आयोजनामा गोदावरी नगरपालिका–१३, झरुवारासीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान २०८२ सुरु भएको छ।

बिहीबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त धार्मिक अनुष्ठान १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आध्यात्मिक चिन्तनमार्फत राष्ट्रशान्ति, लोककल्याण, समस्त जीवात्माहरूको सुख–शान्ति तथा ज्ञात–अज्ञात आत्माहरूको मोक्ष प्राप्तिको उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। साथै “श्रवणकुमार ज्येष्ठ नागरिक तीर्थयात्रा”को पवित्र उद्देश्यलाई समेत अगाडि बढाउने लक्ष्य राखिएको छ। कार्यक्रममा आचार्य श्री गोविन्दशरण दाहालद्वारा श्रीमद्भागवत कथावाचन गरिनेछ।

देशव्यापी १०८ श्रीमद्भागवत सङ्कल्प अभियानका संयोजक तथा परिषद्का अध्यक्ष मुमुक्षु उद्धव शर्माका अनुसार आध्यात्मिक जागरण अभियानस्वरूप आयोजना गरिएको यस अनुष्ठान सम्पन्न भएपछि उक्त स्थानमा ज्येष्ठ नागरिकका लागि पवित्र धाम निर्माण कार्य अगाडि बढाइनेछ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख महर्जनसँगै वडा नं. १३ का वडाध्यक्ष भास्कर थापा, पत्रकार नवीन लुइँटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


Leave Your Comments