ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १२ को आर्थिक सहयोग तथा यल अध्ययन केन्द्रको आयोजनामा नेपाल भाषा, नेवा: प्याखं (नृत्य) र नेवा: कासा (संगीत) सम्बन्धी तीन महिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा बालबालिकाहरूलाई नेपाल भाषासँगै परम्परागत नेवार नृत्य (नेवा: प्याखं) र संगीत (नेवा: कासा) सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो। प्रशिक्षणले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै वडा नं. १२ का अध्यक्ष नारायणलाल अवालेले पछिल्लो समय बालबालिकामा मातृभाषा र संस्कृतिप्रतिको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेपाल भाषा क्रमशः लोप हुने जोखिममा रहेको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले भाषा तथा संस्कृतिको संरक्षण र पुस्तान्तरणमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन वडाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तीन महिनासम्म सञ्चालन भएको प्रशिक्षण सम्पन्न भएसँगै सहभागी बालबालिकाहरूले सिकेका सीपहरू प्रस्तुत गर्दै विभिन्न सांस्कृतिक नृत्य तथा संगीत कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमकै अवसरमा प्रशिक्षणमा सहभागी सबै बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो, जसले उनीहरूको आत्मविश्वास थप अभिवृद्धि गरेको छ।
आयोजकका अनुसार उक्त कार्यक्रममा ५५ जना बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा सहभागीहरूलाई केवल सैद्धान्तिक मात्र नभई व्यवहारिक अभ्यासमार्फत सिकाइ प्रदान गरिएको थियो, जसले उनीहरूलाई आफ्नो संस्कृतिसँग अझ नजिक बनाएको छ।
ललितपुर महानगरपालिकाले स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै यस्ता विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्ता प्रयासहरूले समुदायमा सांस्कृतिक सचेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रतिको गर्व र अपनत्व विकास गर्न टेवा पुर्याएको छ।