नेपाल राष्ट्रिय खड्गी समाज कास्की जिल्लाको ९ औँ वार्षिक साधारण सभा भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। समाजका सदस्य, विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू तथा अतिथिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय खड्गी समाज केन्द्रका अध्यक्ष नन्द किशोर शाहीले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले केन्द्रले आफ्नो जिम्मेवारीअनुसार स्थानीय तहदेखि जिल्लासम्मका संरचनालाई आवश्यक सहयोग गर्न सधैं तत्पर रहेको स्पष्ट पार्नुभयो। समाजलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउँदै लैजान सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, नेपाल राष्ट्रिय खड्गी समाज कास्की जिल्लाका अध्यक्ष विकल शाहीले सभालाई सम्बोधन गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले समाजको एकता, अनुशासन र सक्रियताले आगामी दिनमा थप उपलब्धिहरू हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजका महा सचिव विजय शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले गत वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे विस्तृत जानकारी गराउनुभयो। प्रतिवेदनले समाजले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सचेतनाका क्षेत्रमा गरेका प्रयासहरूलाई उजागर गरेको थियो।
यसै क्रममा नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर जिल्लाका अध्यक्ष भगवान शाहीले पनि शुभकामना मन्तव्य राख्दै समाजमा रहेका शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत विषयहरूलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले समग्र समुदायको उत्थानका लागि एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई थप आकर्षक बनाउन खड्गी समाजका सदस्यहरूले विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूको मन जित्न सफल भयो। सांस्कृतिक प्रस्तुतीहरूले समाजको मौलिक पहिचान र परम्परालाई झल्काएको थियो।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमले समाजभित्रको एकता, आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। समग्रमा, ९औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भई आगामी दिनहरूमा समाजलाई अझ सुदृढ र क्रियाशील बनाउने दिशामा महत्वपूर्ण आधार तयार भएको आयोजकले जनाएको छ।