ललितपुर - ललितपुर महानगरपालिका वडा नं. १२ को नवनिर्मित वडा भवनमा गृहप्रवेश पूजा सम्पन्न गरिएको छ। सोही अवसरमा वडा भेला तथा अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अब महानगरका कुनै पनि महाशाखाहरू घरबहालमा बस्न नपर्ने अवस्था सिर्जना हुँदै गएको बताउनुभयो। उहाँले व्यवस्थित पूर्वाधारसँगै हरियाली प्रवर्द्धनमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
वडा नं. १२ का वडा अध्यक्ष नारायणलाल अवाले नयाँ वडा कार्यालय भवन निर्माणका क्रममा विभिन्न चुनौतीहरू सामना गर्दै भवन निर्माण सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै यसले सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार वडाले पूर्वाधार, स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलगायतका क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उपमेयर मञ्जली शाक्य बज्राचार्यले वडा नं. १२ ले उल्लेखनीय काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो। त्यस्तै, महानगरपालिकाका प्रशासनिक प्रमुख रेखादास श्रेष्ठले स्थानीयवासीका सुझावलाई निरन्तर आत्मसात् गर्दै योजनाहरूलाई सुधारमुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।
महानगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडा अध्यक्षले महानगरले विकास निर्माणका कार्यहरू अघि बढाउँदै आएको जानकारी गराउँदै गलत सूचनाको पछाडि नलाग्न अनुरोध गर्नुभयो। उहाँले स्थानीय सरकारले गर्दै आएका कार्यहरूबारे भ्रममा नपर्न आग्रह गर्दै आवश्यकताअनुसार थप कार्यक्रमहरूलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा वडा सदस्य सशिता महर्जनले स्वागत मन्तव्य राख्दै महिला शिक्षा, स्वास्थ्य तथा सशक्तीकरणका क्षेत्रमा वडाले विशेष पहल गर्दै आएको जानकारी दिनुभयो। वडा सचिव मदन कृष्ण श्रेष्ठले पनि कार्यक्रममा नयाँ वर्ष २०८३ शुभकामना व्यक्त गर्नुभयो।
गृहप्रवेशसँगै सञ्चालन गरिएको वडा भेला तथा अभिमुखीकरण कार्यक्रमले स्थानीय तहको सेवा प्रवाह, योजना निर्माण र नागरिक सहभागितालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।