ललितपुर महानगरको निःशुल्क स्वास्थ्य शिविरमा HPV-DNA विधिबाट क्यान्सर स्क्रिनिङ्ग
Date: 2026-05-08
ललितपुर - ललितपुर महानगरपालिकाको आयोजनामा ललितपुर महानगरपालिका वडा नं. ५ मा HPV-DNA विधिबाट पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ्ग तथा स्तन क्यान्सर, आङ खस्ने र फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। महिलाहरूमा बढ्दो क्यान्सर जोखिमलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।
कार्यक्रममा वडा नं. ५ की महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठले महिलाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन शिविर प्रभावकारी बनेको बताउँदै परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले पछिल्लो समय महिलाहरूमा पाठेघरको क्यान्सर तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण र उपचार अत्यन्त आवश्यक रहेको बताउनुभयो।
ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले ललितपुर महानगरपालिकाले हरेक वर्ष नियमित रूपमा यस्तो स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले समयमै परीक्षण गरी उपचार गर्न सके क्यान्सरजस्तो जटिल रोगबाट जोगिन सकिने बताउँदै गत वर्ष वडा नं. ५ मा स्तन क्यान्सर तथा पाठेघर मुखको क्यान्सरका बिरामीसमेत फेला परेको उल्लेख गर्नुभयो। “अकालमा मृत्यु हुन नदिन र समयमा नै उपचारको पहुँच सुनिश्चित गर्न शिविर सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो।
त्यसैगरी, ललितपुर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दाताराम अधिकारी ले महानगरपालिकाले विगत चार वर्षदेखि महानगर क्षेत्रमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका महिलाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूको पाठेघर परीक्षण गरिनेछ।
उहाँले गत आर्थिक वर्षमा मात्रै ९ हजारभन्दा बढी महिलाको HPV-DNA विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग तथा स्तन क्यान्सर, आङ खस्ने र फिस्टुला सम्बन्धी परीक्षण गरिएको जानकारी दिनुभयो। महानगरपालिकाले महिलाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै समयमै रोग पहिचान र उपचारलाई प्राथमिकता दिएको जनाएको छ।