ललितपुर - ज्यापू समाज यल युवा तथा मेलमिलाप विभाग अन्तर्गत युवा तथा खेलकुद उपसमितिको आयोजनामा ‘उपत्यकाब्यापी कराँते प्रतियोगिता २०८३’ सुरु भएको छ । प्रतियोगिता प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको प्रायोजनमा सञ्चालन भइरहेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जन ले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै ज्यापू समाजले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न गरिरहेको पहलका लागि आवश्यक बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ज्यापू समाज स्थापना भएको ३२ वर्ष पूरा भएको स्मरण गर्दै “हाम्रो कला, हाम्रो संस्कृति सबै जगै राखौँ” भन्ने नाराका साथ समाज अघि बढिरहेको बताउनुभयो । उहाँले भाषा, कला र संस्कृतिको संरक्षणसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । साथै कराँते प्रतियोगिताले बालबालिका तथा युवाहरूमा अनुशासन, आत्मसुरक्षा र आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
युवा तथा खेलकुद उपसमितिका संयोजक बुद्ध डंगोल ले प्रतियोगिताका लागि बागमती प्रदेशबाट बजेट व्यवस्थापनमा सहयोग प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा कराँतेका विभिन्न प्रस्तुति प्रदर्शन गरिएको थियो भने उत्कृष्ट खेलाडीहरूलाई मेडल प्रदान गरी सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।