सेल्फ मेकअप तालिम सम्पन्न

Date: 2026-05-26
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजना तथा गुणा ब्युटिसियन ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको १० दिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ। महिलाहरूलाई आत्मनिर्भर, सीपयुक्त तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम समापन कार्यक्रमका बीच सम्पन्न गरिएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ ले महिलाहरूलाई व्यवहारिक तथा जीवनोपयोगी सीप प्रदान गर्न वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विवाह, व्रतबन्ध, पार्टी तथा अन्य सामाजिक कार्यक्रममा सहभागी हुँदा सामान्य मेकअपकै लागि पनि पार्लरमा धेरै खर्च हुने गरेको उल्लेख गर्दै यस्तो सीप आफैंले सिकेपछि व्यक्तिगत रूपमा उपयोगी हुनुका साथै अरूलाई समेत सिकाएर आयआर्जन गर्न सकिने बताउनुभयो।
उहाँले भन्नुभयो, “आजको समयमा सीप नै सबैभन्दा ठूलो शक्ति हो। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित यो तालिम सञ्चालन गरिएको हो। सिकेको सीपले घरमै बसेर पनि आम्दानी गर्न सकिन्छ।”

त्यसैगरी गुणा ब्युटिसियन ट्रेनिङ सेन्टरका सञ्चालक गुणा केसी ताम्राकार ले मेकअपसम्बन्धी सीप हासिल गरेपछि अनिवार्य रूपमा पार्लर नै खोल्नुपर्छ भन्ने सोच गलत रहेको बताउनुभयो। उहाँले वर्तमान समयमा freelancing माध्यमबाट पनि विभिन्न कार्यक्रम, विवाह तथा विशेष अवसरहरूमा सेवा प्रदान गरी राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्नुभयो ।

महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठले महिलाहरूको आत्मविश्वास अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले मेकअप महिलाको सौन्दर्यसँग जोडिएको विषय मात्र नभई आयआर्जनको माध्यमसमेत बन्न सक्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट व्यवहारिक ज्ञान तथा सीप हासिल गरेको भन्दै खुशी व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने बताउँदै वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै प्रमुख अतिथि, विशिष्ट अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।वडा कार्यालयले आगामी दिनमा पनि महिलाहरू, युवायुवती तथा स्थानीय समुदायलाई लक्षित गरी विभिन्न सीपमूलक तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।








Leave Your Comments