ललितपुर–५ का महिलाले सिके मादल, २० दिने तालिम सम्पन्न

Date: 2026-06-08
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ५ स्थित महालक्ष्मी महिला समूहको आयोजनामा तथा ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा सञ्चालन गरिएको २० दिने मादल तालिम सम्पन्न भएको छ।

स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि, सांस्कृतिक कला संरक्षण तथा परम्परागत बाजाप्रति आकर्षण बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा महालक्ष्मी महिला समूहका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठले मादलजस्ता परम्परागत बाजा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले अहिले रत्यौली तथा पिकनिकजस्ता सांस्कृतिक कार्यक्रमहरूमा समेत मादल बजाउन जान्ने व्यक्ति खोज्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस्ता मौलिक बाजाको संरक्षण र पुस्तान्तरणका लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।

समापन कार्यक्रममा वक्ताहरूले नेपाली मौलिक कला, संस्कृति तथा सांगीतिक सम्पदाको संरक्षणमा यस्ता सीपमूलक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए। उनीहरूले समुदायस्तरमा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएका थिए।२० दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले मादल बजाउने आधारभूत तथा व्यावहारिक सीप हासिल गरेका छन्। तालिमले स्थानीय कला, संस्कृति तथा सांगीतिक परम्पराको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समापन अवसरमा तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।




Leave Your Comments