विकास र पारदर्शिताको दस्तावेज ‘वडा दर्पण’ सार्वजनिक

Date: 2026-06-14
news-banner
ललितपुर, जेठ ३१ — ललितपुर महानगरपालिका वडा नं. ५ ले ‘वडा दर्पण’ स्मारिका विमोचन, वडा भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै चिरीबाबु महर्जन ले वडा नं. ५ ले सञ्चालन गरेका विकास तथा जनमुखी गतिविधिको प्रशंसा गर्नुभयो। उहाँले ललितपुर महानगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न योजना तथा कार्यक्रमबारे जानकारी दिँदै महानगरको समग्र विकासका लागि निरन्तर काम भइरहेको बताउनुभयो।

ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकास मान श्रेष्ठ ले वडाका गतिविधि, योजना तथा उपलब्धिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष ‘वडा दर्पण’ स्मारिका प्रकाशन गर्दै आएको बताउनुभयो। उहाँले जनप्रतिनिधिका रूपमा निर्वाचित हुँदा वडाको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै वडावासीको सेवामा अहोरात्र खटिने बताउनुभयो।त्यसैगरी, मञ्जली शाक्य बज्राचार्य ले वडा नं. ५ ले अन्य वडाको तुलनामा विकास निर्माणका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो।

कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सचिव युवराज सैजु तथा वडा सदस्यहरू मञ्जु रिजाल र अशोक कुमार श्रेष्ठ ले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ‘वडा दर्पण’ स्मारिकाको विमोचन गरिनुका साथै सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। साथै उत्कृष्ट महिला समूह, पत्रकार लगायत विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।
वडाले प्रकाशन गरेको ‘वडा दर्पण’ स्मारिकामा वडाभित्र सञ्चालन भएका विकास निर्माण, सामाजिक गतिविधि तथा विभिन्न कार्यक्रमहरूको विवरण समेटिएको जनाइएको छ।


Leave Your Comments