मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

Date: 2026-06-19
news-banner
ललितपुर — ललितपुर महानगरपालिकाको आयोजना, Mediation Nepal को सहकार्य तथा कानुनी सहयोग एवं परामर्श केन्द्रको प्राविधिक समन्वयमा सञ्चालन गरिएको मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न भएको छ। समुदायस्तरमा हुने विभिन्न प्रकारका विवादलाई अदालतसम्म पुग्नुअघि नै संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा महानगरका विभिन्न वडाका मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सर्वोच्च अदालतका माननीय न्यायाधीश मेघराज पोखरेलले तालिम पूरा गरेका मेलमिलापकर्ताहरूलाई बधाई दिँदै समुदायमा देखिने साना–ठूला विवादलाई समयमै समाधान गरी सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलमिलाप संस्कृतिको विकासले अदालतमा पर्ने मुद्दाको चाप घटाउनुका साथै समाजमा आपसी विश्वास र सहकार्यको वातावरण बलियो बनाउने बताउनुभयो।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विवाद न्यूनीकरणका लागि सबैभन्दा पहिले सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। “सोच परिवर्तन भयो भने व्यवहारमा पनि परिवर्तन आउँछ। विवादलाई पूर्ण रूपमा शून्य बनाउन नसकिए पनि यसको संख्या उल्लेखनीय रूपमा घटाउन सकिन्छ,” उहाँले भन्नुभयो।उहाँले सफल मेलमिलापका लागि संवाद, सहिष्णुता र आपसी समझदारी आवश्यक हुने उल्लेख गर्दै मेलमिलापको अभ्यास आफ्नै घरपरिवार र छिमेकीबाट सुरु गर्नुपर्ने धारणा राख्नुभयो। “विवादको सुरुवात मानिसको मनबाट हुन्छ, त्यसैले मनलाई बुझ्ने र सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ,” उहाँले जोड दिनुभयो।

कार्यक्रममा बोल्दै खगेन्द्र वस्तीले समुदायमा बढ्दै गएका विभिन्न प्रकारका विवादलाई न्यूनीकरण गर्ने उद्देश्यले महानगरपालिकाले मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सञ्चालन गरेको जानकारी दिनुभयो। 

ललितपुर महानगरपालिकाले समुदायस्तरमै विवाद समाधानलाई प्रभावकारी बनाउन विभिन्न वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्दै आएको छ। यस्ता केन्द्रमार्फत स्थानीय स्तरमै सहज, छिटो र कम खर्चमा विवाद समाधान गर्ने वातावरण सिर्जना भएको महानगरपालिकाको विश्वास रहेको छ।

कार्यक्रमको अन्त्यमा ८ दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागी मेलमिलापकर्ताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। महानगरपालिकाले आगामी दिनमा पनि समुदायमा शान्ति, सामाजिक सद्भाव र न्यायमा सहज पहुँच सुनिश्चित गर्न यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



Leave Your Comments