अटिजम केयर नेपाल सोसाइटीलाई ललितपुर महानगरको १६ सिटे एसीयुक्त सवारी हस्तान्तरण

Date: 2026-07-02
news-banner
ललितपुर । अटिजम भएका बालबालिकाको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन ललितपुर महानगरपालिकाले अटिजम केयर नेपाल सोसाइटीलाई १६ सिट क्षमताको एसीयुक्त सवारी साधन हस्तान्तरण गरेको छ।

महानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा प्रवक्ता राजु महर्जनले संयुक्त रूपमा सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यलाई सवारी साधनको चाबी हस्तान्तरण गर्नुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले अटिजम भएका बालबालिकाको दैनिक जीवन सहज बनाउन, उनीहरूको शिक्षामा पहुँच विस्तार गर्न तथा सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले महानगरले उक्त सवारी साधन उपलब्ध गराएको बताउनुभयो।

सो अवसरमा अटिजम केयर नेपाल सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यले घरदेखि संस्थासम्म अटिजम भएका बालबालिकाको सुरक्षित र सहज आवतजावत सुनिश्चित गर्न १६ सिट क्षमताको एसीयुक्त सवारी साधन उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार सवारी साधनमा बालबालिकाको सुरक्षालाई ध्यानमा राखी प्रत्येक सिटमा सिट बेल्टको व्यवस्था गरिएको छ।

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता महर्जन, जिन्सी शाखा प्रमुख सागर थापा, कार्यपालिका सदस्य उमा बज्राचार्य, लक्ष्मी शर्मा, सामुदायिक विकास शाखाअन्तर्गत महिला तथा अपाङ्गता समन्वय समितिका सदस्यहरू, महानगरपालिकाका कर्मचारी तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।


Leave Your Comments