महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार
Date: 2026-07-21
ललितपुर - महालक्ष्मी नगरपालिका–६ मा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने दुई जनामध्ये एक जनालाई पक्राउ गरिएको छ भने अर्का एक जना फरार भएका छन्।
स्थानीयका अनुसार दिउँसै तार काटेर लैजाँदै गरेका व्यक्तिहरूमाथि शंका लागेपछि स्थानीयवासीले सोधपुछ गरेका थिए। सोधपुछका क्रममा उनीहरूले आफूहरू डिसहोम कम्पनीबाट खटिएका प्राविधिक भएको बताएका थिए। तर उनीहरूको गतिविधि शंकास्पद देखिएपछि स्थानीयवासीले सम्बन्धित दूरसञ्चार कार्यालयमा जानकारी गराएका थिए।
जानकारी प्राप्त भएपछि लुभुस्थित दूरसञ्चार कार्यालयका प्राविधिकसहितको टोली घटनास्थलमा पुगेको थियो। जाँच गर्दा उनीहरू आधिकारिक रूपमा खटिएका कर्मचारी नभएको पुष्टि भएपछि स्थानीयवासी, वडा सदस्य तथा प्राविधिक टोलीको सहयोगमा एक जनालाई चोरी गरिएको तारसहित नियन्त्रणमा लिइएको बताइएको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार भएका छन्।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी घटनास्थलमा पुगेर पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। बरामद गरिएको दूरसञ्चारको तार समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।स्थानीयवासीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तथा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, यस्ता घटनाले सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षाप्रति सबै नागरिक थप सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ।
“सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पत्ति हो। यसको संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो।”