न्युरोड क्षेत्रका गल्ली र सम्पदा स्थल पार्किङमा परिणत
Date: 2024-07-10
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा दुईपांग्रे सवारीसाधनको पार्किङ हटाएपछि अहिले गल्ली–गल्ली र चोक पार्किङ स्थलमा परिणत भएका छन्।
विशेषगरी महानगरभित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिति क्षेत्र अहिले पार्किङ स्थल बनेका हुन्। त्यस्तै, संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनिसकेको छ। साँस्कृतिक नगरीको रुपमा परिचित काठमाडौं महानगरका सम्पदा मोटरबाइक र स्कुटरले छोपिएका छन्। यसरी गल्ली र चोकमा पार्किङ गरिँदा सर्वसाधारण बटुवालाई असर परेको छ।
पर्यटकीय स्थल घुमफिर गर्ने विदेशी पर्यटकले समेत नाक खुम्चाउने गर्छन्। यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङ निःशुल्क व्यवस्था गरिदिएको छ। तर, न्युरोड पुग्नेले त्यसका क्षेत्रका गल्लीगल्लीमा सवारीसाधन पार्किङ गर्न थालेका हुन्।