काठमाडौँ महानगरद्वारा नीति, बजेट तथा कार्यक्रम सर्वसम्मत पारित

Date: 2024-07-10
news-banner

काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अधिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ बैठकबाट सकिएको हो ।

 बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।सभाका अध्यक्ष एवम् महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बैठकमा पहिलो प्रस्तावका रूपमा यस अघिको बैठकमा नगर सभा सदस्यहरूबाट प्राप्त सुझाव तथा संशोधन प्रस्तावलाई सम्भव भएसम्म समेट्ने गरी पारित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । यो प्रस्ताव सर्वसम्मत पारित भएपछि आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल सुरु भएको थियो । विधेयकमाथि सभाका २० जना सदस्यहरूले धारणा राख्नुभएको थियो । जेठ ३२ गते बसेको सभाको पहिलो बैठकमा प्रमुख शाहले आर्थिक वर्ष २०८१/०८२ का लागि नीति पेस गर्नुभएको थियो । यस्तै असार १० गते बसेको सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डङ्गोलले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपियाँको वार्षिक बजेट पेस गर्नुभएको थियो ।त्यही बैठकमा उपप्रमुख डंगोलले ‘बजेट तथा कार्यक्रम’ सहित ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेस गर्नुभएको थियो ।

यसरी पेस गरिएको बजेट सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपियाँ र जग्गा एकीकरण आयोजनाहरूबाट आम्दानी हुने एक अर्ब ५० करोड रुपियाँको आय आम्दानीबाट प्रस्ताव गरिएको थियो ।

यस वर्ष स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने,  सामाजिक, आर्थिक भौतिक पूर्वाधार विकासमार्फत समुन्नत र समाजवाद उन्मुख कार्यक्रम तथा गतिविधिमार्फत योगदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । यस्तै लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन, बढ्दो बेरोजगारीको दरलाई न्यूनीकरण गर्न स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगारबाट बिदेसिने युवाको सङ्ख्या घटाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

यस आर्थिक वर्षका लागि सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । 

Leave Your Comments