ललितपुर जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित महालक्ष्मी नगरपालिकाको वडा नं १० मा पर्ने शृङ्गाऋषी गुफा आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना रहेको ठाउँ हो । ललितपुरको ग्वार्कोबाट १० किलोमिटरको दुरीमा साविक लामाटार गाविसमा पर्ने यस क्षेत्रमा तामाङ जातिहरुको बाहुल्य बसोबास छ ।
काठमाडौँ उपत्याकाका विविध स्थानहरुको दृश्यावलोकन गर्न सकिने सुन्दर प्राकृतिक पर्यटकीय क्षेत्र लाँकुरी भन्याङ सँगै रहेको यस ठाउँबाट चाङ्ग्रेसी हिमाल श्रृङ्खला छलाङ समेत देख्न सकिन्छ ।
शृङ्गाऋषी गुफाको आफ्नै ऐतिहासिक धार्मिक महत्त्व रहेको महालक्ष्मी १० का वडाध्यक्ष विजय स्याङ्तान बताउनुहुन्छ । उहाँका अनुसार यस ठाउँमा ऋषिमुनीहरुले तपस्या गरि सत्य ज्ञान प्राप्त गरेको किंवदन्ती रहेको छ । यो गुफा क्षेत्रमा हरेक वर्ष रामनवमी र महाशिवरात्री गरी २ पटक मेला लाग्ने गर्दछ ।उक्त ठाउँसम्म जानको लागि लाँकुरी भन्ज्याङ बाट ५०० मिटरको दुरी रहेको छ ।
गुफासम्म जानको लागि गोरेटो बाटोलाई स्तरोन्नती गरि सहज बनाउने चालू आर्थिक वर्षको योजनामा राखिएको वडा अध्यक्ष स्याङ्तानले बताउनुभयो । स्याङ्तानका अनुसार गुफामा रहेको विशाल ढुङ्गालाई कुदेर श्रंगाऋषिको मुर्ति निर्माण गर्ने आगामी दिनको योजना रहेको छ ।