हट्दै टिकटकमाथिको प्रतिबन्ध

Date: 2024-08-22
news-banner

सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ ।

बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि उनले बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न लागेका हुन् । उनको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटक खुलाउन सहमत भएसँगै गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लाने भएका हुन् ।बिहीबार अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाटै पास गरेपछि २०८० कात्तिक २७ अघि जस्तै नेपालमा टिकटक चलाउन पाइने छ ।प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । खास गरी एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ता शान्ति बरालबारेका आपत्तिजनक सामग्री भाइरल भएपछि टिकटलाई सरकारले निशाना साँधेको थियो।त्यसबेला यी दुईजनासँग सम्बन्धित कन्टेन्ट भाइरल भएपछि सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै प्रतिबन्ध लगाएको थियो ।


    Leave Your Comments