भैंसेपाटीमा मन्त्रीहरुको घर दशैंसम्ममा बनिसक्ने

Date: 2024-08-22
news-banner

सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छभने दोस्रो चरणको केही काम बाँकी छ ।

दशैंसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताउनुभयो । मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम सुरु गरेको थियो।  पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पाकिङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दशैंसम्म पूर्णता दिने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन् ।

“भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ”, महर्जनले भने, “हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ ।” भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री आवास निर्माणका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार बजेट छुट्याइएको छ ।

आयोजनाका सहइञ्जिनीयर राजीव यादवले मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायाम शाला), स्वीमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ ।


Leave Your Comments